यस वर्ष दाङमा रासायनिक मल अभाव नहुने
दाङ । दाङमा यस वर्ष धान खेतीका लागि रासायनिक मल अभाव नहुने भएको छ । आधाभन्दा बढी मल भित्रिसकेको र आवश्यकताअनुसार गोदाममा मौज्दातसमेत रहेकाले रासायनिक मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका जिल्ला शाखाले जनाएका छन् ।
जिल्लामा किसानले मकै र धान खेतीका लागि रासायनिक मल सहकारीमार्फत लैजाने गरेका छन् । सहकारी संस्थाको मागअनुसार गत वर्ष मकै र धान खेतीका लागि जिल्लामा कृषि सामग्री कम्पनीले युरिया पाँच हजार २० दशमलव चार सय मेट्रिक टन, डीएपी दुई हजार चार सय ५१ दशमलव चार सय मेट्रिक टन, पोटास एक हजार ७४ दशमलव छ सय मेट्रिक टन वितरण भएको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखा प्रमुख टोपाराम गौतमले जानकारी दिए ।
किसानले एक वर्षका लागि मल सञ्चित गर्ने बानी छोड्न उनले सुझाव दिए । 'मल पर्याप्त मात्रामा आएको छ कृषि सहकारी संस्थाको माग अनुसार पालैपालो मल वितरण भइरहेको छ', उनले भने, 'धान रोप्ने बेला किसानले युरिया र डिएपी मिलाएर प्रयोग गर्नुपर्नेमा अर्को वर्षका लागि मल स्टक राख्न खोजेका कारण बेलाबेलामा समस्या हुन्छ ।'
यस वर्ष जेठ मसान्तसम्म कृषि सामग्रीमा चार हजार सात सय ५० दशमलव एक सय मेट्रिक टन युरिया, डीएपी दुई हजार आठ सय २४ दशमलव एक हजार तीन सय ५० मेट्रिक टन र पोटास दुई सय २४ दशमलव दुई सय ५० मेट्रिक टन आएर वितरण भइरहेको कार्यालय प्रमुख गौतमले बताए ।
यसैबिच तुलसीपुर क्षेत्रमा पनि मल पर्याप्त रहेको र कृषकले मल पाइराखेकाले यस वर्ष मल अभाव नहुने कृषि सामग्री कम्पनी तुलसीपुरका प्रमुख तीर्थराज न्यौपानेले जानकारी दिए । मल आउने क्रम जारी रहेकाले मल अभाव नहुने उनले बताए । गत वर्षको तुलनामा यस वर्ष धेरै मल वितरण भएको र अझै एक महिना समय बाँकी हुँदा किसानले सहज रूपमा मल पाउने उनको भनाइ छ ।
साल्ट ट्रेडिङ दाङका प्रमुख रामबाबु गुप्ताले यो वर्ष मल अभाव नहुने बताए । गत वर्ष युरिया ६२ हजार बढी बोरा र डीएपी २५ हजार बोरा बिक्री भएकोमा यस वर्ष अहिलेसम्म युरिया ६३ हजार, डिएपी ४० हजार बोरा बिक्री भएको उनले जानकारी दिए ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?