अख्तियारले सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ ।
अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता भएका देखिएपछि अर्यालविरुद्ध मुद्दा दायर गर्ने निर्णय भएको हो ।
टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा उनको संलग्नता पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ । अर्याल सञ्चार मन्त्रालयका सचिव छँदा भएको अन्तःशुल्क स्टिकर प्रकरणमा उनलाई दोषी किटान गरी मुद्दा चलाउने निर्णय गरिएको हो ।
प्राधिकरणको सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा सूचना तथा सञ्चार मन्त्रालयको सचिव रहँदा राज्यकोषमा अर्बौँ रुपैयाँ क्षति पुग्ने गरी विभिन्न निर्णय गरेको भन्दै मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको अख्तियार उच्च स्रोतले जानकारी दियो ।
अख्तियारले शुक्रबार अबेर सो निर्णय गरेपनि विशेष अदालतमा मुद्दा भने लगिसकेको छैन । मुख्यसचिवसहित अन्य उच्च पदस्थ व्यक्ति तथा तत्कालीन केही सहसचिवहरू विरुद्ध पनि मुद्दा दायर गर्ने निर्णय भएको बताइएको छ ।
शुक्रबार सो निर्णय भएको जानकारी पाएका मुख्य सचिव अर्याल आइतबार कार्यालय आएका छैनन् । 'शुक्रबारदेखि मुख्य सचिव ज्यू हाम्रो सम्पर्कमा हुनुहुन्न, आज आइतबार पनि कार्यालय आउनुभएको छैन', प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने ।