२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

को हुन् निमित्त मुख्यसचिवको जिम्मेवारी पाउने लीलादेवी गड्तौला ?

काठमाडौँ । लीलादेवी गड्तौला (निरौला)ले सरकारको निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हालेकी छिन् । आइतबार दिउँसो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर मुख्यसचिव बैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेसँगै प्रधानमन्त्री कार्यालयकै सचिवहरूमध्येबाट वरिष्ठताका आधारमा गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी सम्हालेकी हुन् ।

कार्यसम्पादन नियमावलीअनुसार मुख्यसचिवको अनुपस्थितिमा प्रधानमन्त्री कार्यालयका वरिष्ठतम सचिवले निमित्त मुख्यसचिवको रूपमा काम गर्ने व्यवस्था छ । सोही अनुसार उहाँ (गड्तौला)ले जिम्मेवारी सम्हालेकी हुन् । 

को हुन् गड्तौला ?

निमित्त मुख्यसचिव गड्तौला प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमै कानुन सचिवको रूपमा कार्यरत थिइन् । २०५२ सालमा शाखा अधिकृतको रूपमा निजामती सेवामा प्रवेश गरेकी उनी २०६३ कात्तिक ३ गते उपसचिव र २०७० माघ ९ गते सहसचिव बनेकी हुन् ।

२०७७ कात्तिक २७ गतेदेखि उनी सचिवको रूपमा कार्यरत छिन् । कानुन समूहका प्रायः अधिकृत न्यायाधीशले बन्ने अवसर पाउँछन् । गड्तौलाले भने न्यायाधीशमा रुचि नदेखाएको बताइन्छ । 

गड्तौला कानुन तर्जुमा र लैंगिक न्यायका विषयमा विशेष दख्खल राख्छिन् । न्याय सेवा आयोगको अभिलेखअनुसार उनको स्थायी ठेगाना सोलुखुम्बु हो । उनका श्रीमान् मात्रिका निरौला वरिष्ठ अधिवक्ता छन् । 

कानुनमा स्नातकोत्तर (एलएलएम) सम्म अध्ययन गरेकी गड्तौला निमित्तकै हैसियतमा भए पनि मुख्य सचिवको रूपमा काम गर्ने पहिलो महिला प्रशासक हुन् ।

गड्तौला ५८ वर्षे उमेर हदका कारण  आगामी भदौबाट अवकाश हुँदैछिन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्