२८ वैशाख २०८३, सोमबार
11 May , 2026,Monday

आदिवासी विषय अध्ययन गर्ने विद्यार्थीलाई नेफिनले छात्रवृत्ति प्रदान गर्ने

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघले ‘आदिवासी शिक्षा अध्ययन’ गर्ने विद्यार्थीलाई रिसर्चका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
काठमाडौँ विश्वविद्यालयले गत शैक्षिक वर्षदेखि आदिवासी जनजाति र विकास विषयमा एक वर्षे स्नातकोत्तरको अध्यापन सुरुआत गरेको छ । यस विषयको अध्ययन र अध्यापनले प्रत्येक वर्ष आदिवासी जनजातिको क्षेत्रमा योगदान दिन सक्ने उल्लेख्य अनुसन्धानकर्ता र अध्येताहरू उत्पादन हुने विश्वास लिइएको छ ।

सोही सन्दर्भमा नेफिनले आदिवासी शिक्षा र विकास विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रमका क्रममा आदिवासी जनजाति अध्ययन गर्ने विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गरिने नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिनुभयो ।


आदिवासी विषयमा काठमाडौँ विश्वविद्यालयले सुरुआत गरेको अध्ययन अध्यापनले आदिवासीका विषयमा आदिवासी समुदाय तथा गैर आदिवासी  अध्येयताहरूले अध्ययन गर्ने अवस्थाको सिर्जना हुने उहाँको भनाई थियो ।
खासगरी रिसर्चका लागि र इन्टर्नसिपका लागि छात्रवृत्ति दिने तयारी गरिएको नेफिनका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती भुजेलले जानकारी दिनुभयो । त्यसका निम्ति पछि नियम बनाएर दिइने उहाँले बताउनु भयो। ‘काठमाडौँ विश्वविद्यालयमा आदिवासी जनजाति विषयमा अध्ययन सुरु भएको छ । जो निकै राम्रो विषय हो’, उहाँले भन्नुभयो, ‘त्यसमा नेफिनले रिसर्च र इन्टर्नसिपका निम्ति सहयोग गर्छ । कसरी दिने भनेर नियम बनाएर अगाडि बढाइनेछ ।’

काठमाडौँ विश्वविद्यालयले गत वर्षदेखि आदिवासी जनजाति विषयमा एक वर्षे स्नातकोत्तर अध्ययन सुरु गरेको छ । कोलोम्बिया विश्वविद्यालय र नेफिनको सहकार्य रहेको उक्त अध्ययनमा एक वर्षमा २५ जनाले अध्ययन गर्दै आएका छन् । कार्यक्रममा  काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापकहरू डा.इन्द्रमणि याम्फू, डा.लिना गुरुङ, डा.सुरेश गौतम, डा.प्रकाशचन्द्र भट्टराई, किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम याक्तेनलगायतले आदिवासी शिक्षाले आदिवासीको ज्ञानलाई फैलाउन मद्दत गर्ने बताएका थिए । आदिवासी ज्ञान जीवनोपयोगी, व्यावसायिक बनाउनुपर्ने बताएका थिए ।


नेपालमा पहिलो पटक आदिवासी जनजाति विषयमा अध्ययन सुरु भएको भन्दै उनीहरूले यसले आदिवासीहरूको ज्ञान, सीप पश्चिमा शिक्षाको शैली भन्दा पृथक् प्रकृतिको शैक्षिक पद्धतिका हिसाबले अध्ययनमा आधारित गर्न खोजिएको बताएका थिए । यसअघि आदिवासीमाथि अध्ययन भइरहेको भएपनि अब आदिवासीद्वारा नै आदिवासीमाथि अध्ययन गर्नुपर्ने उनीहरूको भनाई थियो । सहभागीहरूले एक वर्षे मास्टर डिग्रीलाई दुई वर्ष बनाउनुपर्ने सुझाव समेत दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्