साना नदीमा बहाव बढ्ने, सतर्कता अपनाउन महाशाखाको आग्रह
काठमाडौँ । आज देशका केही नदीमा पानीको बहाव बढ्ने सम्भावना छ । दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, गोरखा, लमजुङ र कास्की र भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती जिल्लाका केही साना नदीमा आकस्मिक बाढी आउन सक्ने महाशाखाको अनुमान छ ।
यसैगरी इलाम, झापा, भोजपुर, पर्वत, जाजरकोट, दैलेख, बर्दिया, कैलाली, कालिकोट, अछाम र डोटी भई बहने साना नदीमा पनि बहाव बढ्ने सम्भावना छ । महाशाखाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
अबका तीन दिन कोसी, नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीहरूमा जल सतह उल्लेख्य बढ्दो हुने अनुमान छ । वाग्मती, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जल सतह समेत उल्लेख्य बढ्दो हुने महाशाखाको अनुमान छ ।