भारतीय विदेश सचिव नेपालमा: यस्तो छ भेटघाटको कार्यतालिका
तस्बिरः नेपालस्थित भारतीय राजदूतावास
काठमाडौँ । दुई दिने नेपाल भ्रमणका क्रममा
भारतका विदेश सचिव विक्रम मिस्री नेपालको
आइतबार काठमाडौं आइपुगेका छन् ।
.jpg)
यो शिष्टाचार भ्रमण भएकाले छलफलका लागि "कुनै विशेष विषयहरू" नतोकिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बताए । यद्यपि दुई परराष्ट्र सचिवहरूले नेपाल र भारतका आपसी हितका विविध विषयमा चर्चा गर्नेछन् । यो भ्रमणका क्रममा नेपाल तथा भारतका कुनै पनि संयुक्त समितिहरूका बैठक नराखिएको परराष्ट्रले बताएको छ ।
मिस्री गत महिना मात्र भारतका विदेश सचिव नियुक्त भएका हुन् । काठमाडौँस्थित भारतीय दूतावासले यो भ्रमणलाई नियमित द्विपक्षीय भ्रमण भनेको छ ।
नेपालमा राजदूतसमेत रहिसकेका विनयमोहन क्वात्राले विदेश सचिवबाट अवकाश पाएपछि मिस्री उक्त पदमा आएका हुन् । विदेश सचिवका रूपमा पहिलो विदेश भ्रमण भुटानको गरेका उनले नेपाललाई त्यसपछिको आफ्नो विदेश भ्रमणको गन्तव्य बनाएका हुन् ।
भारतीय विदेश सचिवले नेपालमा रहँदा गर्ने उच्चस्तरीय भेटघाटहरूमा द्विपक्षीय हितबारे कुराकानी भने हुनेछ । परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री आरजू देउवालाई भेट्ने तय भइसकेको छ ।
भारतको विदेश मन्त्रालयले गत शुक्रवार जारी गरेको विज्ञप्तिमा पनि नेपालकी परराष्ट्र सचिव सेवा लम्सालको निम्तोमा उनी नेपाल भ्रमणमा आउन लागेको जनाइएको थियो । त्यस्तै भ्रमणले भारतको "छिमेकी पहिलो" नीतिअन्तर्गत उसले नेपालसँगको सम्बन्धलाई प्राथमिकता दिन्छ भन्ने कुरालाई पनि झल्काउने उसले जनाएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार नेपाल र भारतबिचको द्विपक्षीय सम्बन्ध र सहकार्य पछिल्ला दिनहरूमा अझ सुदृढ भएको छ ।
विदेश सचिवको यो भ्रमणले सम्बन्धलाई थप विस्तार गर्ने, ताजा बलियो बनाउने ठानेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।