पर्यटन प्रवर्द्धन गर्न रुप्सेले काठमाडौँ-भियतनाम चार्टर उडान गर्ने
काठमाडौँ । रुप्से होलिडेजले दसैँ लगत्तै नेपाल र भियतनामबिच दुई वटा चार्टर उडान गर्ने भएको छ । दुईतर्फी पर्यटक आदान–प्रदान गर्न ३० असोज (१६ अक्टोबर)मा नेपालबाट भियतनाम र भियतनामबाट नेपालमा चार्टर उडान गर्न लागेको रुप्सेले जनाएको छ ।
दुई देशबिच पर्यटक आदान–प्रदान गर्नका लागि चार्टर उडान गर्न लागेको रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले जानकारी दिए । रुप्सेले यसअघि पनि नेपाल र भियतनामबिच पर्यटक आदान–प्रदान गर्न चार्टर उडान गरेको थियो ।
रुप्से होलिडेजले भियतनाम भ्रमणका लागि सबै शुल्क जोडेर प्रतिव्यक्ति एक लाख १० हजार रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ । सो मूल्यमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको बताइएको छ ।
एकैपटक सबै रकम तिर्न नसक्ने पर्यटकले मासिक पाँच हजार रुपैयाँको किस्ताबन्दीमा पनि घुम्न पाउने भएका छन् । '१२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दीमा रकम तिर्न सक्ने व्यवस्था हामीले मिलाएका छौँ', रुप्सेका प्रबन्ध निर्देशक पराजुलीले भने, 'भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार पारिएको छ ।'
नेपाली पर्यटकलाई भियतनामको राजधानी हानोईआसपासका विभिन्न पर्यटकीय गन्तव्यमा घुमाउने गरी तयारी भएको बताइएको छ । पहिलो दिन हानोईको बसाइ हुनेछ भने दोस्रो दिन निन बिन टापुमा भ्रमण गराइनेछ । यस्तै, तेस्रो दिन हा लोङ बेमा क्रुज सफारी हुनेछ भने चौथो दिन ट्रेन स्ट्रिट भिजिट र हानोईको सिटी टुर गराई पाँचाँै दिन नेपाल फर्काउने रुप्से होलिडेजले जनाएको छ ।
भियतनामबाट चार्टर उडानमा नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तयार भएको रुप्से होलिडेजले जनाएको छ । नेपाल–भियतनामबिच सीधा उडान छैन । सोही कारण चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको हो ।
अन्य देश भएर भियतनाम जानुपर्दा धेरै खर्च हुने भएकाले चार्टर उडान गर्न लागिएको र दुवै देशबाट पर्यटक आउने र जाने भएकाले उडानको खर्च कम हुँदा टुर प्याकेज पनि सस्तो कायम गरिएको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?