प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । 'भिजिबिलिटी' कम भएका कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
आन्तरिक उडान सामान्य प्रभावित रहेको तर अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनले भने, 'मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरा र भरतपुर गन्तव्यमा उडान हुन सकेको छैन । अन्य पहाडी क्षेत्रका विमानस्थलमा पनि सामान्य उडान प्रभावित भएको छ ।'
पोखरा र भरतपुरमा आज अहिलेसम्म कुनै उडान नभएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए । वर्षा कम भएसँगै भिजिबिलिटीमा सुधार आए केही बेरपछि उडान हुने जानकारी आएको उनले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।