प्रकाश तामाङले घरमै पाए नागरिकता
काठमाडौँ । 'हेर्ने कथा' को ‘हराएका वर्ष’का पात्र प्रकाश तामाङले नागरिकता प्राप्त गरेका छन् ।
हेर्ने कथामार्फत ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ ‘काले’ ले आइतबार नागरिकता पाएका हुन् । भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
गोरखाको चुमभ्यालीबाट काठमाडौँ हुँदै भोजपुर पुगेका प्रकाशको बुवा-आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ ।
षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा, प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद ज्ञवालीले आवश्यक सरकारी प्रक्रिया पुर्याएर प्रकाशलाई नागरिकता दिएका छन् ।