खानेपानी तथा सरसफाइका समस्याको दीर्घकालीन समाधान खोज्न नीति बहस
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरमा खानेपानी र सरसफाइका समस्या समाधानका लागि जनताको सक्रिय सहभागिता अनिवार्य रहेको बताएका छन् ।
फ्रेस वाटर एक्सन नेटवर्क (फान्सा)को सहकार्यमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) द्वारा आयोजित नीति बहस कार्यक्रममा उनले पोखराका विभिन्न वडामा पानीको आपूर्तिमा असमानता, गुणस्तर र फोहोर व्यवस्थापनका समस्या रहेको उल्लेख गरे ।
उनले भने, 'यी समस्याको समाधानका लागि जनताले पनि आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बेला आएको छ । जनताको सहभागिता आवश्यक छ ।'
मेयर आचार्यले महानगरले खानेपानी समस्या समाधानमा दीर्घकालीन कार्य योजना बनाउन आवश्यक रहेको बताए । 'शुद्ध पानी पिउन पाउने सबैको अधिकार हो र यसलाई सुनिश्चित गर्न हामीले दीर्घकालीन योजना बनाउनुपर्छ त्यही बनाउनको लागि धेरै कामहरू हामीले अगाडि बढाइरहेका छौँ', उनले भने, 'जाइकासँग मिलेर ठूलो प्रोजेक्टमा पनि हामीले काम सुरु गरिसकेका छौँ त्यो प्रोजेक्टमा हामीले प्रत्यक्ष रूपमा जनतासँग सहभागी भएर काम गर्ने योजनामा छौँ ।'
उनले पानीको गुणस्तर सुधारका लागि धाराबाट सिधै पाउने पिउने व्यवस्थामा महानगर लागेको बताए । मेयर आचार्यले भने, 'पोखरा महानगरले पोखराका केही वडामा छिट्टै धाराबाट सिधै पिउन मिल्ने शुद्ध पानीको व्यवस्था गर्न लागेको छ । यसले जनताको स्वास्थ्यमा सुधार ल्याउनेछ । प्रारम्भिक चरणमा केही वडाहरूमा यो सेवा सुरु गरिनेछ र बिस्तारै अन्य वडाहरूमा पनि यो सेवा विस्तार गरिनेछ ।'
आचार्यले महानगरले फोहोरबाट ग्यास निकाल्ने प्रक्रिया, ल्यान्डफिल्ड साइटहरूको उचित व्यवस्थापन, र फोहोर व्यवस्थापनमा सक्रिय रूपमा काम गर्दै आएको बताए । यसको लागि दीर्घकालीन उपायको खोजी गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा फेडवासनका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले संघको भूमिका र महत्वबारे प्रकाश पारेका थिए । फेडवासन देशभरिका उपभोक्ताको हित संरक्षण गर्ने, उनीहरूको आवाज उठाउने र नीति निर्माणमा योगदान गर्ने एक राष्ट्रिय संस्था भएको उल्लेख गर्दै उनले उपभोक्ताको समस्यालाई सम्बोधन गर्न र खानेपानी तथा सरसफाइ सेवाको सुधारमा काम गरिरहेको बताए । उनले भने, 'विशेषगरी पोखरा महानगरपालिकामा हामीले खानेपानीको पहुँच, गुणस्तर र सरसफाइका मुद्दामा सुधार गर्न स्थानीय उपभोक्तासँग मिलेर काम गर्ने योजना बनाएका छौँ ।'
यसैगरी फेडवासन कास्कीका अध्यक्ष दाताराम आचार्यले पोखराका उपभोक्ताले भोगिरहेका प्रमुख समस्या र तिनको समाधानका उपायबारे सुझाएका थिए । पोखराका धेरै वडामा खानेपानीको पहुँच सीमित रहेको र उपभोक्ताले सधैँ सफा पिउने पानी प्राप्त गर्न कठिनाइ भोगिरहेको उनको भनाइ थियो । 'फोहोर व्यवस्थापनमा पनि महिलाको उचित सहभागिता सुनिश्चित हुन नसकेको छैन र ल्यान्डफिल्ड साइटहरूको उचित व्यवस्थापन अभावले समस्या जटिल बनेको छ', उनले भने ।
पोखरा महानगरपालिकामा खानेपानी तथा सरसफाइका समस्या दीर्घकालीन समाधानको लागि जनताको सहभागिता, संघ संस्थाको सक्रियता र महानगरको जबाफदेहितामा आधारित हुनुपर्नेमा नीति बहसमा सहभागी सबैले सहमति जनाएका छन् । बहसले महानगरको खानेपानी तथा सरसफाइमा सुधारका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकतालाई पुनः जोड दिएको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?