काठमाडौँ महानगरले गर्यो पलेसालाई पाँच लाखसहित सम्मान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ ।
महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले आज पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशालाई पाँच लाख र प्रशिक्षक कविराज नेगीलाई तीन लाख रुपैयाँसहित सम्मान गरेका हुन् । आज बिहान स्वदेश फर्किएकी पलेशालाई यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगर परिक्रमा गराएको थियो ।
पेरिस पारालिम्पिक्समा पलेशाले के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो पदक हो ।