काठमाडौँ । अविरल वर्षापछिको बाढी पहिरोमा परी काठमाडौँ उपत्यकामा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ ।
बिहीबार रातीदेखिको वर्षापछिको बाढी पहिरोमा परी काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
मृत्यु भएकामध्ये शनिबार साँझसम्म २७ जनाको सनाखत भएको छ । अझै सात जनाको सनाखत हुन बाँकी छ ।
बाढी पहिरोमा परी काठमाडौँको दक्षिणकाली नगरपालिका–८ का ४३ वर्षीय भविन्द्र लिम्बू, सोही ठाउँका ४० वर्षीय कुमार तामाङ र २३ वर्षीय मनु तामाङ, दक्षिणकाली–९ का ३७ वर्षीय प्रेम बलामी र सोही ठाउँका ३४ वर्षीय कान्छा बलामी, दक्षिणकाली–७ का ५० वर्षीय देवी लिम्बुको मृत्यु भएको छ । उनीहरूको घरमा बसिरहेको अवस्थामा पहिरोमा परेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
यसैगरी नागार्जुन नगरपालिका–६ इचङ्गुनारायण बस्ने सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का अन्दाजी ४५/४५ वर्षका सचिन साह, चन्द्रागिरि नगरपालिका–२ मसिनेका ३८ वर्षीय गर्व तामाङ र निजकी श्रीमती ३६ वर्षीय सविनाको पनि मृत्यु भएको छ । दुवै जना घरमा बसिरहेका थिए ।
यस्तै अर्घाखाँची घर भई कीर्तिपुर बस्ने २४ वर्षीय अजय पाण्डेको वर्षाका कारण ढलेको रुखमा मोटरसाइकल ठोक्किँदा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । हालसम्म नाम थर वतन नखुलेको अन्दाजी ४०/४५ वर्षका पुरुष व्यक्तिको मृत्यु भएको छ ।
भक्तपुरको सूर्य विनायक नगरपालिका–९ पलासेस्थित सूर्यमोडमा पहिरोले टहरो बगाउँदा कालिकोट सानी त्रिवेणी नगरपालिका–५ की २४ वर्षीय बमिला शाही, निजकी १४ वर्षकी बहिनी मनीषा शाही र निजको चार वर्षको छोरी श्रीया बमको मृत्यु भएको छ । बमिला नौ महिना पुगेको गर्भवती भन्ने बुझिएको प्रहरीले जनाएको छ ।
सूर्य विनायक–८ आशापुरी नैचाल बस्ने ५० वर्षीय मसली तामाङ र निजकी ३७ वर्षीय बहिनी मनु तामाङको पनि पहिरोमा परी मृत्यु भएको छ ।
ललितपुरको गोदावरी नगरपालिका–१० टाखेल निवासी ५८ वर्षीय सानु चालिसे र गोदावरी–९ चुनिखेल घर भइ हाल सोही ठाउँ बस्ने वर्ष ४८ की सुशीला लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै महाङ्काल गाउँपालिका–३ माथिल्लो गोटिखेल निवासी राजकुमार सिङतानको घर पुरिँदा निजको दुई वर्षीय छोरा सम्यमको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–९ छम्पीस्थित भैँसेपाटी–टीकाभैरव सडक खण्डमा माथिबाट पहिरो आई बाटो अवरोध भएको र सोही स्थानमा सिन्धुली घर भइ हाल सोही स्थानमा टहरो बनाई बस्ने ४२ वर्षीय सुनिता तामाङको पुरिएर मृत्यु भएको छ । गोदावरी–३ स्थित ३५ को पवन नगरकोटीको टहरोमाथिबाट पहिरो झर्दा पवन र निजको २० वर्षीय छोरी मेन्सिलाको पनि मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका–२५ तालिम केन्द्र नजिकका ६६ की ताराराज कनिकाको घरमाथिबाट आएको पहिरोले बगाएर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–९ सिस्नेरी ठकुरीगाउँकी ३५ वर्षीय रिना महिमकर्मी श्रेष्ठको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । सोही ठाउँको सिस्नेरी खोलामा बस्ने ४४ वर्षीय रवीन भुजेलको खोलाले बगाएर मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका–१४ कार्नतिपुर कलौनीमा रौतहटका २७ वर्षीय नन्दु साहको नख्खु खोलाले बगाएर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–८ शङ्खादेवीमा पहिरोमा पुरिएर घाइते भएकी ६१ वर्षीय राधिका थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । बाढीपहिरो तथा डुबानमा परेका एक हजार तीन सय १५ जनालाई उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताए ।
बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ ।
काठमाडौँमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् ।
विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा तीन सय ५० जना प्रहरी खटिइएको उपत्यका प्रहरीका कार्यालयले जनाएको छ ।