यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे त्यसतर्फ गएको छ । शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भए पनि सफल हुन सकेको थिएन ।
खाद्यान्नसहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनः धुलिखेल फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले बताए । उनका अनुसार त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज बिहानैबाट तयारी थालिएको थियो ।
सडक सम्पर्क विच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । उनीमध्ये बिरामी, अशक्त र वृद्ध वृद्धालाई पहिलो प्राथमिकतामा राखेर उद्धार गरिनेछ । उनीहरूलाई धुलिखेल र भकुन्डे ल्याइनेछ ।
लामाका अनुसार नार्के बजारमा १२ घर पहिरोमा परेका छन् । करिब दुई सय स्थानीय शरणमा बसेका छन् । रोशीमा ११ जनाको मृत्यु भएको छ । पानीले बिपी राजमार्गका काभ्रेपलान्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको हो । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा क्षेत्रमा रोशी खोलाको बाढीले करिब डेढ सय मिटर बिपी राजमार्ग बगाएको छ ।
अरनिको र हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिराका कारण यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् । अन्य ठाउँमा पनि सडकमा पहिरो खसेका र रोशी खोलाको राजमार्ग कटान गरेको छ । दुई दिनको अविरल वर्षाका कारण बाढी–पहिरोमा परी काभ्रेपलान्चोकमा ३० जनाको मृत्यु भएको जनाइएको छ ।
रोशी गाउँपालिकामा ११, तेमालमा १०, चौँरीदेउरालीमा पाँच, भुम्लुमा दुई, बेचानचोक र बनेपा नगरपालिकामा एक–एक जनाको मृत्यु भएको छ । पनौती–११ स्थित थुम्कीमा भण्डारी परिवारको एक घर पहिरोले बगाउँदा चार जना बेपत्ता भएका छन् ।