विपद्मा परेकाको उद्धार र राहतमा कुनै कमी हुन्न: प्रधानमन्त्री
तस्बिरः प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अकल्पनीय बाढी पहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा सरकारले कुनै कमी हुन नदिने बताएका छन् ।
अमेरिकाको न्यूयोर्कमा ७९औँ महासभामा सहभागी भई आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले त्यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने, 'सरकारी एवं जनस्तरबाट विपद्मा परेकाको उद्धार जारी छ । सरकार उहाँहरूको साथमा छ । म उहाँहरूलाई विश्वास दिलाउँछु कि यस विपद्मा सहयोग गर्न, राहत पुर्याउन र उद्धार गर्न सरकारबाट कुनै कमी हुने छैन ।'
उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास दिलाउँदै प्रधानमन्त्री ओलीले विपद्का समयमा अपनाइएको सुझबुझ र धैर्यताका लागि देशवासीलाई धन्यवाद ज्ञापन व्यक्त गरे । उनले विपद्मा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
प्रधानमन्त्रीले ओलीले भने, 'म मुलुक बाहिर रहँदा देशमा अकल्पनीय बाढी पहिरोले ठूलो जनधनमा क्षति पुर्यायो । धेरै जनताको मृत्यु भयो । धेरै अझै बेपत्ता हुनुहुन्छ । कयौँ घाइते हुनुहुन्छ । म मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।'
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?