काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या २०९ जना पुगेको छ ।
गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीले अन्य २९ जना बेपत्ता र एक सय ४२ जना घाइते भएका जानकारी दिए । मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
खोज तथा उद्धार कार्य जारी रही आज नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुरलगायत स्थानबाट घाइते, बिरामी तथा अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको उनले जानकारी दिए ।
मन्त्रालयले अवरुद्ध सडक, विद्युत्, टेलिफोनलगायत अत्यावश्यक सेवाहरू शीघ्र सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको तथा खोज र उद्धार कार्यलाई आवश्यकताअनुसार सुरक्षा निकायबाट निरन्तरता दिइएको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय निकाय र लजिष्टिक क्लष्टरका साझेदार संस्थासँग बैठक गरी राहत सामग्रीको स्टक लिने र वितरणका लागि नक्साङ्कन गर्ने कार्य भइरहेको तथा सबै खाले राहत सामग्री एकद्वार प्रणालीमार्फत वितरण गरिने उनले आज साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सुरक्षा निकाय र सडक विभागसँगको समन्वयमा अवरुद्ध राजमार्ग सुचारु गर्ने, तत्काल सुचारु गर्न नसकिने सडकको हकमा वैकल्पिक मार्ग व्यवस्थापन गरी सवारी आवागमन सहज बनाउने कार्य भइरहेको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहका सम्बद्ध निकायबाट विपद् प्रभावितलाई आपतकालीन राहत शीघ्र उपलब्ध गराउने व्यवस्थाका लागि समन्वय गरिएको छ ।'