१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, १९ जना अझै बेपत्ता

फाइल तस्बिर

काठमाडौँ । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २३६ पुगेको छ ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो । 
तिवारीका अनुसार अझै १९ जना बेपत्ता छन् भने घाइतेहरूको सङ्ख्या १६५ छ । बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । जसमध्ये ९१० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ भने बाढीपहिरोबाट सडक, पुल लगायतका संरचनाहरूमा करोडौँको क्षति पुगेको छ ।
बिपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । भौतिक पूर्वाधार मन्त्रालयले बिपी राजमार्ग दसैँ अघि सञ्चालनमा ल्याउन कठिन हुने जनाएको छ । 
यसैगरी राजधानी काठमाडौँलाई अन्य जिल्लाहरूसँग जोड्ने अर्को मुख्य राजमार्ग पृथ्वी राजमार्गमा पनि दर्जनौँ ठाउँमा गएको पहिरोले क्षति पुगेको छ । यातायातका साधन सहज रूपमा सञ्चालनका लागि वैकल्पिक सडक बनाउने र खाल्डाखुल्डी पुर्ने काम जारी छ ।

सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता तिवारीले बताए ।
बाढी पहिरोमा परी ४ हजार ६६७ घरहरू पूर्णरूपमा क्षति पुगेको छ । आंशिक क्षति पुगेका घरहरूको सङ्ख्या भने ५ हजार ३१० छ । १६ हजार २४३ परिवार बाढीपहिरोबाट प्रभावित भएका छन् भने १० हजार ८०७ जना विस्थापित भएका छन् ।
त्यस्तै ११ वटा जलविद्युत आयोजना, ६ वटा सिँचाइ आयोजना, १० राजमार्ग ४४ वटा सस्पेन्सन ब्रिजमा क्षति पुगेको छ । 
९६ वटा विद्यालय र ६६ वटा स्वास्थ्य संस्थामा पनि बाढी पहिरोले क्षति पुगेको गृह मन्त्रालयको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्