२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

आजदेखि मेलम्चीको पानी काठमाडौँ पठाइने

फाइल फोटो

काठमाडौँ । आजबाट मेलम्चीको पानी काठमाडौँ पठाइने भएको छ । आन्दोलनरत स्थानीय र हेलम्बु गाउँपालिकासँग सोमबार राति सहमति भएपछि मंगलबारबाटै सुरुङमा पानी हाल्ने तयारी थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

स्थानीयवासीले आन्दोलन गर्न थालेपनि मेलम्ची खानेपानी विकास समितिले भित्रभित्रै तयारी भने गरी नै रहेकाले पानी पथान्तरण गर्न छिटो सम्भव भएको पनि उनले जानकारी दिए । भने, 'हिजो राति सहमति भएसँगै आजैबाट सुरुङमा पानी पठाउने तयारी थालेका छौँ । अहिले हामी सिन्धुपाल्चोकको अम्बाथानस्थित मुख्य सुरुङमै छौँ । आधा घण्टाजति सुरुङको अवस्था के छ भनेर अवलोकन गर्नेछौँ। त्यसपछि पानी पठाउने प्रक्रिया सुरु हुनेछ ।'

काठमाडौँ पथान्तरण गर्न बनाइएको करिब २७ किलोमिटर सुरुङभित्र पानी भरिएको उनले बताए । त्यसकारण आज हालिएको पानी आजै काठमाडौँ आइपुगेर वितरण प्रणालीमा जोडिने छ । काठमाडौँ अस्थायी तवरले पानी पथान्तरण गर्न लागिएको हो ।

२०७८ असार १, साउन १६ र १७ गतेको भेलबाढीपछि काठमाडौँमा अस्थायी तवरले पानी ल्याउने गरिन्छ । हिउँद यामभरि पानी ल्याउने र बर्खामा सुरुङ बन्द गर्ने गरिएको छ ।

अघिल्लो पटक सुरुङमा लेदो पसेकाले सफा गर्न समय लागेको थियो । यसपटक नदीको बहाव व्यवस्थित गरिएको र सुरुङको मुखमा छेकबार राखिएकाले लेदो पस्न नपाएको कार्यकारी निर्देशकले जानकारी दिए ।

गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षात् र त्यसपछिको बाढीले काठमाडौँ उपत्यकाको खानेपानी वितरण प्रणाली बिगारेको छ । काठमाडौँ उपत्यकामा मेलम्ची नदीको पानी नल्याइँदा औसत १३ करोड लिटर पानी आपूर्ति हुँदै आएको छ । 

मेलम्ची नदीको दैनिक १७ करोड लिटर पानी वितरण प्रणालीमा थपिँदा औसत ३० करोड लिटर पानी आपूर्ति हुन्छ । तैपनि काठमाडौँ उपत्यकाको खानेपानीको माग भने पूरा हुन सकेको छैन । 

जनघनत्व बढेसँगै अहिले काठमाडौँ उपत्यकामा सरदर दैनिक ५० करोड लिटर खानेपानीको माग रहेको छ । पछिल्लो बाढीले उपत्यकाको खानेपानी फर्पिङ लगायतका ठाउँबाट आपूर्ति हुने प्रणाली, भूमिगत स्रोतको प्रणाली बिगारेकाले बनाउन केही समय लाग्ने र त्यसपछि मात्रै आपूर्ति सहज हुने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्