वायुसेवा निगमले असोजसम्मको तिर्यो ५३ करोड किस्ता
फाइल फोटो
काठमाडौँ । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका जहाजको ऋणको असोज मसान्तसम्मको किस्ता तिरेको छ । निगमले यही असोज ३० मा ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो ।
दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक किस्ता रकम तिरेको निगमले जनाएको छ ।
कम्पनीका अनुसार असोजसम्म निगमले ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ ।
साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकोले सो असर रहेको अवधिको ब्याज, ब्याजको ब्याज, हर्जना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको निगमले जनाएको छ ।