१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

सरकारले राहत र पुनःस्थापनाका लागि प्रभावकारी काम गरिरहेको छ : प्रधानमन्त्री

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनः स्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट पारेका छन् । 
नेकपा (एमाले) को सिन्धुली जिल्ला कमिटीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आज प्रधानमन्त्री निवास, बालुवाटारमा दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले पछिल्ला मन्त्रिपरिषद्का बैठक र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का बैठकबाट समय तालिका तोकेर राहत र पुनः स्थापनाका काम प्रभावकारी रूपमा अघि बढाउन निर्णय गरिएको जानकारी गराए । 
उनले सरकार सबै सम्बन्धित अङ्गले पीडितका पक्षमा सक्दो काम गरिरहेकाले अराजकता र अस्थिरता मच्चाउन चाहनेहरूले फैलाएका अनावश्यक भ्रम चिरेर ढुक्कका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे । 
एमालेको जिल्ला कमिटीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जिल्लाका चार पालिकालाई सङ्कटग्रस्त घोषणा गरेकामा सरकारलाई धन्यवाद दिँदै किसानका पाकेका धानबाली र सयौँ सङ्ख्यामा पशु चौपायाहरूमा समेत क्षति भएकाले पुनःनिर्माण र पुनः स्थापनाका कामलाई अगाडि बढाउँदै किसानलाई विशेष राहतको प्याकेज व्यवस्था गर्न आग्रह गरेका थिए । 
सो अवसरमा एमालेका अनुशासन आयोगका अध्यक्ष केशव बडाल, एमालेका बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराई, पूर्व सांसद गणेश पहाडीलगायत सहभागी थिए । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्