२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

भिजिट भिसामा कुवेत उड्न लागेका २२ युवती विमानस्थल अध्यागमनले फर्कायो

फाइल फोटो

काठमाडौँ । भिजिट भिसामा कुबेर उडाइन लागेका २२ जना युवतीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता भएका छन् । मानव तस्करीको आशंकामा विमानस्थल अध्यागमनले उनीहरूलाई फर्काइदिएको हो ।
उनीहरू हिमालयन एयरलाइन्सको बिहीबार राति ९ः४५ को उडानबाट कुवेत जान लागेका थिए । दुबई हुँदै कुवेत जान लागेका उनीहरूसँग एकातिरको बोर्डिङ पास र अर्कातिरको भिसा भएको फेला परेपछि राति नै फिर्ता गरिएको विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईले बताए । 'टिकट पनि एकतर्फी मात्रै रहेछ' भट्टराईले भने, 'बदमासी प्रस्ट देखिएपछि हामीले फिर्ता गरेका हौँ ।'
भट्टराईका अनुसार उनीहरूसँग दुबईको भिसा र कुवेतको बोर्डिङ पास थियो । घटनामा कसैलाई पक्राउ गरिएको छैन । एकजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो । तर, पछि छोडियो ।
नेपाली युवती भिजिट भिसामा विभिन्न मुलुक जाने र अवैध रूपमा विभिन्न श्रमजन्य कार्यमा संलग्न हुने कारण सरकारले त्यसलाई नियमन र व्यवस्थापनको काम अगाडि बढाएको थियो ।
विमानस्थल अध्यागमनका पूर्वप्रमुख गोविन्दप्रसाद रिजालको संयोजकत्वमा कार्यदल समेत बनाइएको थियो । तर, एक महिनाअघि उनी त्यहाँबाट सरुवा भई अध्यागमन विभागको महानिर्देशक भएपछि भिजिट भिसालाई नियमन गर्ने काम रोकिएको छ ।
भिजिट भिसाको विकृति नियन्त्रण जरुरी भएको वर्तमान प्रमुख भट्टराई पनि स्वीकार गर्छन् । 'के गर्दा नियन्त्रण गर्न सकिन्छ भन्नेबारे हामी अध्ययन र छलफलकै क्रममा छौँ', उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्