त्रिविको जग्गा हिनामिना गर्नेलाई कानुनी दायरामा ल्याएर छोड्छौँ : प्रधानमन्त्री
फाइल फोटो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै कार्यान्वयनमा ल्याउने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगको प्रतिवेदन प्राप्त भएको भन्दै प्रधानमन्त्रीले सिफारिस भएका तथ्यहरूमाथि थप अनुसन्धान गरेर कार्यान्वयन गर्ने बताएका हुन् ।
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले मंगलबार प्रधानमन्त्री ओलीसमक्ष प्रतिवेदन बुझाएको थियो । गत जेठ १७ गते मन्त्रिपरिषद्बाट पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो ।
बुधबार सामाजिक सञ्जालमै लेख्दै प्रधानमन्त्री ओलीले आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अनुसन्धान गरी खोजिने बताएका छन् ।
'एउटा संयोग -२०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न मन्त्रिपरिषद्बाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेका थियौँ। ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको छ । त्यसपछि त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोग पनि त्रितालको नेतृत्वमा नै बन्यो । आयोगको अध्ययन प्रतिवेदन हिजो प्राप्त भएको छ। शारदाप्रसाद त्रिताल अस्वस्थ हुनुहुँदो रहेछ । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ। त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइनेछ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन् ,'प्रधानमन्त्री ओलीले भनेका छन्, 'आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने छ। आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ । हात हालेपछि यसलाई टुङ्गोमा पुर्याएरै छाडिनेछ ।'
२०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुंगेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसका जग्गाको अवस्था दुरुपयोग भएको प्रतिवेदनमा उल्लेख छ । आयोगले यसअघि मंसिर १४ गते शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री भट्टराईलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा २०१३ साल नैकाप, ढुंगे अड्डाको १२५ रोपनी अतिक्रमणमा परेको छ। यो जग्गा किनबेच पनि भइसकेको छ । सर्वोच्च अदालतले यो जग्गा त्रिविकै भएको फैसला पनि गरिसकेको छ । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर-बल्खु क्षेत्रको १००० रोपनी जग्गा संकु्चनमा रहेको प्रतिवेदनमा उल्लेख छ । समितिले ललितपुरको लुभुमा रहेको ३७५ रोपनी खोजबिन पहिचान गरेको छ । लेब्रोटोरी स्कुलले १०९ रोपनी ,बागवानी केन्द्रको २८१ पनि त्रिविको जग्गा भएको प्रतिवेदनले देखाएको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?