नेपालमा लगातार भूकम्प, १८ दिनमा १० धक्का
फाइल फोटो
काठमाडौं । नेपालमा लगातार दोस्रो दिन भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (पुस १९ गते) बिहान ८ बजेर ३ मिनेट जाँदा मुगुको लुमा क्षेत्र केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि हिजो (पुस १८ गते) दिउँसो मात्र सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । जसको धक्का काठमाडौँ उपत्यकासम्म आएको थियो ।
पुस २ देखि आज पुस १९ गते बिहानसम्म नेपालमा ३ म्याग्निच्युडमाथिका १० पटक भूकम्प गइसकेको छ । जसमध्ये ९ भूकम्प त पश्चिम नेपालमा मात्र गएको छ । पुस लागेयता लगातारजसो भूकम्प गइरहेको छ ।
सुरुमा पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने लगत्तै पुस ३ गते बझाङको धामेनालाई नै केन्द्रबिन्दु बनाए ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यसपछि पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गयो भने पुस ६ गते बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो ।
पुस ६ को भूकम्पले बाजुरामा दर्जनभन्दा बढी घर भत्काएको/चर्काएको थियो । यस्तै पुस ९ गते दार्चुलाको अपी हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसपछि पुस १२ गते राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यस्तै पुस १६ गते बिहान बैतडीको सिगास गाउँपालिकाको न्वाघर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यी भूकम्प ३ म्याग्निच्युडभन्दा माथिका हुन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार नेपालमा भूकम्प मापन केन्द्रले रेकर्ड गर्न सक्ने खालका भूकम्प त औसत रूपमा दैनिक १० पटकसम्म जान्छ ।
उनका अनुसार नेपालमा उपलब्ध प्रविधिले २ म्याग्निच्युडभन्दा माथिका भूकम्प मात्र रेकर्ड गर्नसक्छ । यसभन्दा मुनिका ससाना भूकम्प त झन् कति जान्छ कति ।