चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला
फाइल फोटो
नवलपरासी,
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा भाले गैँडा मृत फेला परेको छ । नवलपुरको देवचुलीमा रहेको शिसवार मध्यवर्ती क्षेत्रको नारायणी नदिमा पर्ने पिप्रहर घाटको पारी निकुञ्ज भित्र अन्दाजी २३ वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
थापाका अनुसार दुईवटा गैँडा एक आपसमा जुध्ने क्रममा गैँडा मरेको हो । मृत गैँडाको खाग र खुर सुरक्षित रहेको सूचना अधिकारी थापाले बताए । यो सँगै चालू आवमा मृत्यु हुने गैँडाको संख्या १३ पुगेको छ ।