५० हजार धरौटीमा छुटे डा. निकोलस भुसाल
काठमाडौँ,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसाल धरौटीमा छुटेका छन् ।
विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) को कसुरमा बिहीबार पक्राउ गरी शुक्रबार उनीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बयान र थुनछेक बहस भएको थियो ।
कास्की जिल्ला अदालतमा भएको थुनछेक बहसपछि ५० हजार धरौटी तिरेर भुसाल छुटेका हुन् ।
न्यायाधीश शंकरबहादुर राईको इजलासले भुसाललाई ५० हजार रुपैयाँ छोड्न आदेश दिएको हो । उनीविरुद्ध १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गरिएको थियो ।
मंसिर २९ गते रवि लामिछानेलाई भेट्न पुगेका भुसालले रवि हिरासतमा सुतिरहेको फोटो सिसिटिभी मनिटरबाट खिचेर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए ।