पत्रकार सुरक्षाको माग गर्दै पत्रकार महासंघले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र
गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाउँदै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मालगायत ।
काठमाडौँ । नेपाल पत्रकार महासंघले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको समूहले प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखक समक्ष पत्र बुझाएको हो ।
त्यस अवसरमा बोल्दै गृहमन्त्री रमेश लेखकले पत्रकारिता लोकतन्त्रको वाहक र संरक्षक भएको बताएका छन् । गृहमन्त्री लेखकले पत्रकारिता लोकतन्त्रको ‘धर्ममिटर’ पनि भएको बताए ।
'हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ', मन्त्री लेखकले भने, 'स्वतन्त्र, व्यावसायिक, निष्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्छ ।' उनले कुनै पनि तवरले पत्रकारिताको स्वतन्त्रता र व्यावसायिकतामाथि र निष्पक्ष रूपले कलम चलाउन पाउने, बोल्ने पाउने सञ्चार गृह र सञ्चारकर्मीको आधारभूत अधिकारको सुनिश्चितता हुने विश्वास दिलाए ।
पत्रकारिता पनि मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा मन्त्री लेखकको जोड थियो । 'कपोकल्पित समाचारहरू सम्प्रेषण गर्ने, समाजमा अनावश्यक खालको भ्रमहरू सिर्जना गर्ने, व्यक्ति, समाज र समुदायको चरित्रहत्या गर्ने लगायतका गतिविधिबाट आफू र सञ्चार गृह जोगाउन तपाईँहरूलाई आग्रह गर्दछु', मन्त्री लेखकले भने 'त्यस्ता गतिविधि बढ्यो भने समग्र सञ्चार जगतप्रतिको विश्वास कमजोर हुन्छ ।'
त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकार महासंघको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निभाएको भूमिकाप्रति धन्यवाद ज्ञापन गरे ।
सम्बन्धित समाचारः
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?