२४ वैशाख २०८३, बिहिबार
7 May , 2026,Thursday

साइबर अपराधको जोखिममा महिला र बालबालिका

काठमाडौँ । नेपालमा ८१ प्रतिशतभन्दा बढी अनलाइन घटना (साइबर हिंसा तथा अपराध) सामाजिक सञ्जाल फेसबुकबाट भइरहेको पाइएको छ । 

आर्थिक वर्ष २०८०/८१ मा ६३५ जना बालबालिकामध्ये २५३ बालक र ३८२ बालिका रहेका छन् । यस्तै अनलाइन हिंसा तथा अपराधमा महिला आठ हजार ७४५ जना महिला प्रभावित भएको तथ्याङ्क छ । 

सुरक्षित इन्टरनेट दिवस, २०२५ को सन्दर्भमा भ्वाइस अफ चिल्ड्रेन र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एन्ड टेलिभिजन (आइवर्ट)ले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अनलाइन हिंसाबाट प्रभावित महिला र बालबालिकाको तथ्याङ्क सार्वजनिक गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगमा महिला र किशोरीमाथि हुने विभिन्न हिंसालगायत अनलाइन हिंसाको उजुरी आउने गरेको र आयोगले साइबर ब्यूरोसँग समन्वय गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने गरिएको जानकारी दिए । 

उनले प्रविधिको सहयोगमा धेरै राम्रा, उत्पादनमूलक र सूचनामूलक जानकारी हासिल हुने गरे पनि यसको दुरुपयोग हुँदा धेरै नै दुःख, बदनामी खप्नुपर्ने अवस्था भएकोले सुरक्षित इन्टरनेटको प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम विद्यालय र समुदाय स्तरमा समेत निरन्तर सञ्चालन गर्नुपर्ने बताए । 

राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले साइबर हिंसाको सिकारमा धेरै  बालबालिका परिरहेको बताउँदै अहिलेको जमानामा इन्टरनेटको प्रयोग नै नगर भन्न नसकिने उल्लेख गरे । उनले इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिकालगायत सबैले सिक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । 

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले प्रविधिको दुरुपयोगले समाजका सबै उमेर, वर्ग र पेशा व्यवसायका व्यक्तिहरूलगायत पत्रकार समेत अनलाइन  हिंसामा परेको सन्दर्भमा रहेको उल्लेख गरे । 

उनले प्रविधिको सदुपयोग सम्बन्धमा चनाखो हुँदै हिंसामा परिहाले सम्बन्धित निकायमा उजुरी गरी पीडकलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा आइवर्टका अध्यक्ष इच्छा गुरुङले अनलाइन हिंसाबाट पत्रकार महिला प्रभावित हुने क्रम बढेको बताए । उनले समाज परिवर्तनका लागि योगदान दिने पत्रकार नै यस्तो हिंसामा पर्नुले अनलाइन हिंसाको अवस्था भयावह रहेको बताए ।  

आइवर्ट नेपालका उपाध्यक्ष गीताञ्जली लामाले 'अनलाइन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका' विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल प्रहरी साइबर ब्यूरोका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ६३५ जना बालबालिका र आठ हजार ७४५ जना महिला प्रभावित भएको तथ्याङ्क प्रस्तुत गरे ।

उनका अनुसार बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था भ्वाइस अफ चिल्ड्रेनले जर्मन सहयोगमा सन् २०२३ मा कोशी र बागमती प्रदेशका ५१४ जना बालबालिका र सम्बन्धित परिवारसँग गरिएको सर्वेक्षणले पनि साइबर अपराधको जालोमा बालबालिका परिरहेको तथ्याङ्क देखाएको छ । 

सो सर्वेक्षणमा १३ देखि १८ वर्ष उमेर समूहका ९७ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचमा रहेका देखाएको छ । जसमध्ये ३८.६० प्रतिशत बालिकालाई र ३२.३० प्रतिशत बालकले सामाजिक सञ्जालबाट  यौनजन्य सन्देश आएको, ३४ प्रतिसतले  अश्लील फोटो र अन्य दुर्व्यवहार हुने भिडियो आउने गरेको उल्लेख छ । 

भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्णकुमार थापाले अनलाइन हिंसामा महिला, बालिका, किशोरी मात्र होइन, बालकहरू पनि परिरहेको सो तथ्याङ्कले देखाएको र इन्टरनेटको सही प्रयोगबारे जनचेतनामूलक कार्यक्रम र साइबर हिंसा गरे हुने कारबाही र उजुरी गर्ने निकाय नेपाल प्रहरी साइबर ब्यूरोबारे पनि सबैलाई जानकारी गराउँदै जानुपर्ने बताए ।

नेपाल प्रहरी साइबर सेल ७७ जिल्लाभरमै बिस्तार गरिएको र सबै जिल्लाबाट अनलाइन (साइबर) हिंसाबारे उजुरी गर्न सकिने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्