२८ साउन २०८३, बिहिबार
13 August , 2026,Thursday

देश विकास हुँदैछ, युवाहरू निराश हुनु पर्दैन : प्रधानमन्त्री

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अँध्यारो युगबाट भर्खरै उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनु नपर्ने बताएका छन् । 

जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताए । 

उनले सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्नेमा जोड दिए । 'खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ । पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ । तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुपर्छ भन्ने छैन । आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर उचित वातावरण दिनुपर्छ', प्रधानमन्त्री ओलीले भने, 'निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन । शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन । एसइईमा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ ।'

प्रधानमन्त्री ओलीले एसइई मा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताए ।

आफू पहिला प्रधानमन्त्री हुँदा तीन सय ९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उनले यसबीचमा प्रभावकारी रूपमा काम हुन नसकेको  बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको रजत जयन्ती स्मारिकाको विमोचन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्