अहमदाबाद दुर्घटनामा बाँच्न सफल विश्वास भन्छन्, ब्युँझँदा वरिपरि लासहरू छरिएका थिए
जहाज दुर्घटनामा बाँचेका बेलायती नागरिक विश्वासकुमार रमेश । तस्बिर स्रोत: हिन्दुस्तान टाइम्स
काठमाडौँ । भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको जहाज दुर्घटनामा एक यात्रु बाँच्न सफल भएका छन् । उनको असारवास्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
विमान दुर्घटना भएपछि सवार यात्रुका आफन्तहरू अस्पताल पुगेका थिए । त्यसैक्रममा ४० वर्षीय रमेश कुमार विश्वासले आफू दुर्घटनाबाट जोगिएको बताएपछि धेरै जना चकित परेका थिए । उनलाई छाती, आँखा र खुट्टामा चोट लागेको अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
बेलायती नागरिक रमेशले आफन्तलाई भेट्न भारत आएको बताए । भारत बसाइका क्रममा दाजु अजयसँग विभिन्न स्थानमा घुमघाम पनि गरेको उनको भनाइ छ । एयर इन्डियाको जहाजबाट दाजुसँगै उनी सवार रहेका थिए । आफू बाँच्न सफल भए पनि दाजु अहिलेसम्म फेला नपरेको उनले गुनासो गरे ।
रमेशले विमान उडेको ३० सेकेन्डमै पड्किएको जस्तो आवाज आएको बताए । 'विमान उडेको झन्डै ३० सेकेन्डपछि ठूलो आवाज आयो र त्यसपछि दुर्घटना भयो,' उनले भनेका छन् । सबै कुरा यति छिटो भयो केही सोच्नै नसकेको उनको भनाइ छ ।
दुर्घटनापछि आफू होसमा आउँदा वरिपरि लासहरू देखेको उनले बताए । 'जब म होसमा आएँ, मेरो वरिपरि लासहरू थिए । म डराएँ । उठेर दौडिएँ । चारैतिर विमानका टुक्रा-टुक्रा फैलिएका थिए । कसैले मलाई समाते र एम्बुलेन्समा हालेर अस्पताल ल्याए,' उनले भने ।
रमेश विगत २० वर्षदेखि लन्डनमा बस्दै आएका छन् । उनकी पत्नी र बच्चाहरू पनि लन्डनमै बस्छन् । उनले आफ्ना दाजु अजयलाई खोजिदिन अपिल पनि गरे । दाजु र आफू फरक फरक ठाउँमा बसेको उनको भनाइ छ ।
बिहीबार १:३९ बजे अहमदाबादबाट लन्डन उडेको एयर इन्डियाको ७८७ विमान केही क्षणमै दुर्घटनामा परेको थियो । उक्त विमान डाक्टरहरू बस्ने होस्टेलमा खसेको थियो । विमानमा क्रुसहित २४२ जना सवार थिए । जसमध्ये १६९ जना भारतीय नागरिक र ६१ जना विदेशी नागरिक थिए । विदेशीमध्ये पनि ५३ जना बेलायती, ७ जना पोर्चुगी र १ जना क्यानडाका नागरिक थिए ।
मृतकको सङ्ख्या २०४ पुग्यो
यसैबीच विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २०४ पुगेको छ । अहमदाबादका प्रहरी अधिकारी जीएस मलिकले २०४ जनाको शव फेला परेको पुष्टि गरे । उनले दुर्घटनाबाट कोही बाँचेको पनि हुनसक्ने बताए । अस्पतालमा भने ४१ जनाको उपचार भइरहेको उनको भनाइ छ ।