२८ साउन २०८३, बिहिबार
13 August , 2026,Thursday

एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो: सञ्चारमन्त्री गुरुङ

तस्बिरः सञ्चारमन्त्रीको सचिवालय

चीन (सांघाई) । चीनको सांघाई वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई यही साउन १० गते सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एआईका उपलब्धिहरूको पहुँचमा समानताको वकालत गरेका छन् ।

मन्त्री गुरुङले त्यस सन्दर्भमा भने, 'एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनु पर्छ। हामी विकासशील राष्ट्रहरूका लागि कम्प्युटिङको शक्ति, ओपन मोडलहरू र डेटा सेटहरू प्रदान गर्न अन्तर्राष्ट्रिय सहयोगको आग्रह गर्छौँ ।'

विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन २०२५ र विश्वव्यापी एआई शासनसम्बन्धी उक्त उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री पृथ्वीसुब्बा गुरुङले पारदर्शिता, समावेशिता, जबाफदेहिता र एआईको गैर-सैन्यीकरणलाई प्रवर्द्धन गर्ने संयुक्त राष्ट्रसङ्घको नेतृत्वको चार्टरलाई समर्थन गर्ने बताए ।

सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने, 'एआईले हाम्रो अर्को पुस्तालाई सशक्त बनाउनुपर्छ। हामी विश्वव्यापी रूपमा एआई साक्षरता र नैतिक नवप्रवर्तन प्रवर्द्धन गर्न विश्व एआई शिक्षा कोषका लागि आह्वान गर्छौँ ।'

सम्बोधनका क्रममा मन्त्री पृथ्वीसुब्बा गुरुङले एआईमा नेपालको दृष्टिकोण, समावेशी तथा मानव-केन्द्रित विकासका लागि एआई रहेको बताए । उनले भने, 'नेपाल डिजिटल छलाङको सीमामा उभिएको छ। अन्तिम स्वीकृतिको चरणमा रहेको हाम्रो राष्ट्रिय एआई नीतिले हाम्रा राष्ट्रिय प्राथमिकताहरूसँग तारतम्य मिलेको समावेशी र नैतिक एआई इकोसिस्टमको परिकल्पना गरेको छ ।'

एआईसम्बन्धी उक्त विश्व सम्मेलनमा मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको एआई लक्ष्यका बारेमा स्पष्ट पार्दै नेपालले रणनीति र अन्तर्राष्ट्रिय सहकार्यका लागि राष्ट्रिय एआई केन्द्र स्थापना गर्ने, अग्रणी विश्वविद्यालयहरूमा एआई उत्कृष्टता केन्द्रहरू र सबै प्रदेशहरूमा नवप्रवर्तन हबहरू सुरु गर्ने, शासन, सार्वजनिक सेवा, विपद् प्रतिक्रिया, कृषि, शिक्षा र स्वास्थ्यमा एआईलाई प्रवर्द्धन गर्ने र विद्यालयदेखि विश्वविद्यालय तहसम्म एआई र डिजिटल साक्षरतालाई अनिवार्य बनाएर हाम्रा युवालाई एआई युगका लागि तयार गर्ने लक्ष्य रहेको बताए ।

मन्त्री गुरुङले भने, 'नेपालका लागि एआई विलासिता होइन, बरु समानता, रूपान्तरण र दुर्गम क्षेत्रमा टेलिमेडिसिनदेखि हाम्रो नागरिक एपमार्फत रियल टाइममा नागरिक सेवा दिनेसम्मको न्यायको साधन हो। हामी साझेदारी, डेटा पूर्वाधार र एआई सीपहरू निर्माण गरिरहेका छौँ ताकि परम्परागत विकासका अवरोधहरूलाई नाघेर अगाडी बढ्न सकियोस् र प्रविधिले सबैको सेवा गर्न सुनिश्चित गर्न सकियोस् ।'

करिब एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ तथा नीति निर्माताहरूको उक्त सम्मेलनमा सम्बोधन गर्दै उनले भने, 'एआईको क्रममा मानवता बिना प्रविधि अराजकता हो; नैतिकता बिना नवप्रवर्तन जोखिम हो भन्ने हामीले मनन गर्न पर्छ।  नेपालले खुला सहकार्य, एआईको जिम्मेवार विकास र नैतिक शासनप्रति आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याउँछ । हामी सबै राष्ट्रहरू - ठुला र सानालाई निष्पक्ष, सुरक्षित र रूपान्तरणकारी एआई भविष्यको निर्माणमा सहभागी हुन आह्वान गर्छौँ । एआईले विशेषाधिकार प्राप्त केहीलाई होइन सम्पूर्ण मानव जातिको उत्थान गरोस् भन्ने सुनिश्चित गर्नु हाम्रो साझा चुनौती हो ।'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्