२८ वैशाख २०८३, सोमबार
11 May , 2026,Monday

अबका युवाहरू आइटी क्षेत्रमा अब्बल हुनुपर्छ : मन्त्री गुरुङ

तस्बिरः सञ्चारमन्नीको सचिवालय

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अबका युवाहरूले आइटी क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताए ।  
आज काठमाडौँमा कान्तिपुर सिटी कलेजमा आयोजित “केसीसी एक्जिविसन–२०२५” को उद्घाटन गर्दै मन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको बताउँदै आइटीमा युवा रोजगारको प्रशस्त सम्भावना रहेको समेत सुनाए । उनका अनुसार देश विदेशमा त्यहाँको सूचना प्रविधिले गरेको विकासले धेरै अगाडी पुगेको छ । 
नेपालमा सूचना प्रविधिका विकासका थुप्रै सम्भावना छन् तर, प्रशस्त जनशक्तिको अभाव, प्रभावकारी नीतिको अभाव र आइटी इन्फास्टक्चरको कमीका कारण व्यवहारमा उतार्न चुनौती खेप्नुपरेको मन्त्री गुरुङले बताए । तर, पनि एआईलाई नै भविष्यको लक्ष्य निर्धारण गरेर अब्बल बन्छु भन्ने सृजनशील युवाहरूका लागि नेपाल मै रोजगार पाउने अवसर बिस्तारै राज्यले निर्माण गर्ने विश्वास उनले दिए । “यो वर्ष हामी आइटी सम्बन्धी इन्फास्टक्चरहरूको निर्माण गर्ने देखि फो जी घर घर पुर्‍याउने र फाइभजीको लन्च गर्ने भएका छौँ” नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भने, “अबको विकास भनेको सूचना प्रविधिको समृद्धि नै विकास हो ।”
कार्यक्रममा क्यानका अध्यक्ष सुनैना घिमिरेले युवाहरूले सूचना प्रविधिको माध्यमबाट नवीन कार्य सुरु गरेर स्वदेशमै रोजगारका प्रशस्तै अवसरहरू प्राप्त गरिरहेका उदाहरण दिए । “मेहनत गर्ने र आइटी सम्बन्धी ज्ञान राख्नेलाई आयआर्जन गर्न दुख छैन,” उनले भन्नुभयो,“क्यानले यस्ता युवालाई सहयोग र प्रोत्साहन समेत गर्दै आएको छ ।”
त्यस्तै, कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान(नास्ट) का सचिव डा. रवीन्द्र प्रसाद ढकालका अनुसार देशमा इन्जिनियरको निकै खाँचो छ । यहाँ पढेर विदेश जाने युवाहरू बढ्दै गर्दा मुलुक कसले समृद्धितर्फ लैजान्छ ? भन्ने चिन्ताको विषय बन्दै छ । उनले युवा विदेश पलायन हुनु भनेको राज्यले सही वातावरण स्वदेशमा दिन सक्नुको परिणाम रहेको बताए । यद्यपि सूचना प्रविधिको विकासले पछिल्लो समय स्वदेशमै बसेर सिर्जनात्मक कार्य गर्ने आशा लाग्दा युवाहरू पनि रहेको उनले सुनाए । “सूचना प्रविधिले युवा स्वदेशमै टिकाउन सकिने आधारहरू छन्, तर त्यसको लागि उपयुक्त काम गर्ने वातावरण राज्यले महसुस गराउन सक्नुपर्छ”, डा. ढकालले भने । दुई दिन सम्म रहने प्रदर्शनीमा युवाहरूले बनाएका आइटी सम्बन्धी थुप्रै नवीन कामका नमुना प्रदर्शन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्