सूचिकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन
फाइल फोटो
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयमा सूचिकृत भएका बाहेक सम्पूर्ण सामाजिक सञ्जाल प्ल्याटफर्महरू क्रमशः निष्क्रिय गर्ने प्रक्रिया सुरु गर्ने भएको छ ।
यसका लागि मन्त्रालयले दूरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ । आज बिहीबार मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले गरेको निर्णयअनुसार नेपालमा सूचीकरण हुन नआएका सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई तत्काल निष्क्रिय बनाउने निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेश र मन्त्रीपरिषद्को भदौ ९ गते निर्णयको कार्यान्वयन गर्न मन्त्रालय यस्तो प्रक्रिया थालेको हो ।
सञ्चार मन्त्री गुरुङका अनुसार सरकारकाले पटक पटक सूचना जारी गरी जानकारी गराउँदा पनि प्ल्याट फर्महरूले अटेरी गरेको हुँदा यस्तो बाध्यात्मक अवस्था आएको हो । ''हाम्रो उद्देश्य सधैँलाई बन्द गर्न खोजिएको होइन । उनीहरू सम्पर्कमा आउन साथ पुन सुचारु हुनेछ'', उनले भने, ''सूचीकृत भइसकेका र प्रक्रियामा रहेकालाई बन्द गरिएको छैन ।''
मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले हाल सम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचिकृत भइसकेको र टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको जानकारी दिए । ''मन्त्रालयले गरेको एक अध्ययन अनुसार नेपालमा हाल २५ वटा जति सामाजिक सञ्जाल प्ल्याट फर्महरू बढी सक्रिय रूपमा प्रयोग भएका छन्'', उनले भन्नुभयो, ''तर, कति वटा बन्द हुन्छ यकिन छैन, हजारौँ प्लेटफर्म बन्द हुन सक्छन् ।''
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?