कर्फ्युको समयमा बालबालिकालाई सुरक्षित तवरले घर फर्काउन सिजपको माग
फाइल फोटो
काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले कर्फ्युको समयमा बालबालिकालाई सुरक्षित तवरले घर फर्कने वातावरण मिलाउन आग्रह गरेका छन् ।
सिजपका अध्यक्ष तिलोत्तम पौडेलले जेनजीको आन्दोलन हिंसात्मक बन्दै जाँदा प्रशासनले कर्फ्यू आदेश जारी गरेकाले विद्यालयमा रहेका बालबालिकाहरूको सुरक्षाप्रति चिन्ता व्यक्ति गर्दै त्यस्तो आग्रह गरेका हुन् । 'विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन् । कुनैपनि बहानामा बालअधिकारको हनन हुनुहुँदैन । आज जेनजी पुस्ताले प्रदर्शन गरिराख्दा हजारौँ बालबालिकाहरू विद्यालयमा छन्', अध्यक्ष पौडेलले भने, 'उनीहरू त्रसित छन् र कसरी घर फर्कने भन्ने चिन्तामा छन् । उनीहरूलाई सकुशल सुरक्षित ढङ्गबाट घरमा पठाउने वातावरण सिर्जना गर्न म सम्बन्धित सबै पक्षलाई बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको तर्फबाट हार्दिक अनुरोध गर्न चाहन्छु ।'
प्रदर्शन गर्न पाउनु सबैको संवैधानिक अधिकार भएपनि प्रदर्शनको नाममा जीउधनको क्षति हुनेगरी सरकारी सम्पत्ति तथा निजी सम्पत्तिमाथि आगजनी गर्ने अधिकार कसैसँग नभएको भन्दै सिजपले शान्तिपूर्ण रूपले आवाज उठाएका आवाजहरूलाई सरकारले सम्बोधन गर्नुपर्ने बताएको छ । तर आन्दोलनका नाममा हुने सबै प्रकारको हिंसाको विरुद्धमा अभियान रहेको उल्लेख गरिएको छ । 'प्रदर्शन गर्न पाउनु संवैधानिक अधिकार हो । तर प्रदर्शनको नाममा जीउधनको क्षति हुनेगरी सरकारी सम्पत्ति तथा निजी सम्पत्ति माथि आगजनी गर्ने अधिकार कसैसँग पनि छैन । शान्तिपूर्ण शान्तिपूर्ण रूपले आवाज उठाउन र ती आवाजहरूलाई सरकारले सम्बोधन गर्नुपर्दछ। तर आन्दोलनका नाममा हुने सबै प्रकारको हिंसाको हामी विरुद्धमा छौँ ।'