संवैधानिक संरचना यथावत् राखी मुलुकलाई निकास दिन पापडको आग्रह, साङ्केतिक प्रदर्शन
काठमाडौँ । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले प्रदर्शन गरेको छ । शुक्रबार नेपाल बार एसोसिएसन परिसरमा भेला भएर उनीहरूले संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन सुझाव दिएका छन् ।
जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्यौलता देखिएको बताउँदै पापडले यस्तो सुझाव दिएको हो । 'संविधानको रक्षा गरौँ, लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्रको संरक्षण गरौँ’, ‘संविधान बचाऔँ, देश जोगाऔँ’ लगायत प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
यसैबीच शान्ति र लोकतन्त्रका लागि पेशागत संगठनहरूको सञ्जाल(पापड)ले संवैधानिक संरचनाहरू यथावत् राखी मुलुकलाई निकाय दिन राष्ट्रपति समक्ष आग्रह गरेका छन् । पापडले शुक्रबार एक विज्ञप्ति जारी गरी युवाहरूले सरकार परिवर्तनको माग गरेको र त्यो प्रारम्भ भइसकेको अवस्थामा उनीहरूको माग अनुसार नै संवैधानिक वैधता कायम राख्न माग गरेका हुन् ।
उनीहरूले तत्काल राष्ट्रिय सरकारको गठन अघि बढाउन माग गर्दै लोकतान्त्रिक मूल्यमान्यता विपरीत कुनै पनि प्रक्रिया आफूहरूलाई मान्य नहुने चेतावनी दिएका हुन् । संवैधानिक सर्वोच्चता, विधिको शासन र स्वतन्त्र न्यायपालिका विपरीतका काम भए प्रतिरोध गर्ने उनीहरूको चेतावनी छ ।
मुलुकका विभिन्न पक्षले लामो संघर्ष गरेपछि लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशी जस्ता उपलब्धि हासिल गरेको भन्दै उनीहरूले कुनै पनि बहानामा तिनीमाथि सम्झौता गर्न नसकिने औँल्याएका हुन् ।
सुशासनयुक्त र भ्रष्टाचारमुक्त समाज बनाउने युवाको माग सम्बोधन हुनुपर्ने भन्दै उनीहरूले मुलुकलाई भूराजनीतिक चपेटाबाट जोगाउन पनि माग गरेका छन् ।
