बाल दिवसको सन्दर्भमा दीप प्रज्वलन
द्वन्द्व र आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौँ । राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा काठमाडौँको सिनामंगलस्थित बालबालिका शान्ति पार्कमा द्वन्द्व, हिंसा, विपत्ति र विभिन्न आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बेलुकी दीप प्रज्वलन गरेको हो ।
सिजपका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफ, साझेदार संस्था सेभ द चिल्ड्रेन, बाल अधिकार क्षेत्रमा सक्रिय नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संजालका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका बालबालिकाको सम्झनामा निर्माण गरिएको शान्ति पार्कमा सिजपले हरेक वर्ष बाल दिवसको पूर्व सन्ध्यामा दीप प्रज्वलन गर्दै आएको छ । तर, गत भदौ २३ र २४ गते भएको जेन-जीको आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण यस वर्ष बाल दिवसका अन्य कार्यक्रमहरू हुन सकेनन् ।
.jpg)
त्यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले भने, 'बालबालिका र विद्यालयहरू शान्ति क्षेत्र हुन् । बालबालिका हाम्रो राष्ट्रिय गौरव हुन् । उनीहरूको संरक्षण र संवर्द्धन गर्नु सरकार, घरपरिवार र समुदाय सबैको साझा दायित्व हो । भदौ २३ पछि उत्पन्न घटनाक्रमले बालबालिकामा गम्भीर मनोसामाजिक समस्या सिर्जना गरेको छ । फेक सूचनाका कारण उनीहरूमा त्रास फैलिएको छ। अब विद्यालयमा शान्ति शिक्षा र मनोपरामर्श सेवा अनिवार्य गर्नुपर्छ ।'
कार्यक्रममा बोल्दै बालअधिकारकर्मी कुमार भट्टराई, प्रलाद ढकाल, गोविन्द शाही र बेनुमाया गुरुङले युद्ध, द्वन्द्व, प्रदर्शन र आन्दोलनमा जहिल्यै बालबालिका पीडित र प्रभावित हुने गरेको स्मरण गराए । उनीहरूले भने, 'जेन-जी आन्दोलनसहित परिवर्तनका आन्दोलनहरूमा योगदान गर्ने सबै बालबालिका र युवाप्रति हामी सम्मान व्यक्त गर्छौँ । पीडित परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूलाई निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।'
.jpg)
सहभागीहरूले विद्यालय र बालबालिका शान्ति क्षेत्र कायम गर्नुपर्ने, कुनै पनि आन्दोलन वा हिंसामा बालबालिकाको प्रयोग नगर्नुपर्ने र राजनीतिक दल तथा युवा पुस्ताले कानुन, अधिकार र कर्तव्यका विषयमा थप सचेतना फैलाउनुपर्नेमा जोड दिएका थिए ।
हालै भएको जेनजी आन्दोलनका क्रममा थुप्रै बालबालिका घाइते भएका थिए भने कम्तीमा चार जना १८ वर्षमुनिका बालबालिकाले ज्यान गुमाएका छन् । साथै फेक समाचार र डर त्रासका कारण धेरै बालबालिका त्रसित बनेको सरोकारवालाहरूले बताए । यसप्रति राज्य गम्भीर हुनुपर्ने र परिवारले बालबालिकालाई समय दिनुपर्ने आवश्यकता समेत औंल्याइएको थियो ।
संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धि सन् १९८९ नोभेम्बर २० मा पारित भएको थियो । नेपालले यसलाई १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको थियो । त्यसपछि २०६२र६३ को जनआन्दोलनपश्चात् नेपालमा प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने प्रचलन सुरु भएको हो ।
.jpg)
तर यस वर्ष भदौ २३ र २४ गतेको आन्दोलनका घटनाले बालबालिका र युवाहरूको ठूलो क्षति भएपछि दिवसलाई पीडादायक र खल्लो रूपमा मनाउनुपरेको सहभागीहरूको भनाइ रहेको थियो ।
५० जिल्लामा १०७ सदस्य संस्था रहेको बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को स्थापना नै बालबालिकालाई हिंसा, दुर्व्यवहार र शोषणबाट जोगाउने र बालमैत्री नीतिको पैरवी गर्ने उद्देश्यले भएको सिजप महासचिव राजु घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार, अभियानले बालबालिकाको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्न आगामी दिनमा अझ सक्रिय भूमिका खेल्नेछ ।