जेनजी आन्दोलन: बालबालिकामा मानसिक समस्या, तीन बालबालिकाले गुमाए ज्यान
तस्बिरहरूः शब्दन्युज
काठमाडौँ । भाद्र २३ र २४ गते जेनजी उमेर समूहको नाममा भएको आन्दोलनको प्रत्यक्ष प्रभावमा बालबालिकाहरू परेका छन् । जेनजी समूहमा बालबालिका देखि युवा उमेर समूहका बालबालिका पर्ने भएकाले आन्दोलनमा बालबालिका सहभागिता हुँदा त्यसले ठुलो क्षति बेहोर्नुपरेको छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले 'नेपालमा जेनजी नेतृत्वको राजनीतिक आन्दोलनमा बालबालिका तथा युवाको अधिकार उल्लङ्घन र तत्कालका आवश्यकताहरूको द्रुत मूल्याङ्कन' प्रतिवेदन सार्वजनिक गर्दै जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभाव बालबालिकामा परेको उल्लेख गरेको छ । पछिल्लो सरकारी तथ्याङ्क अनुसार आन्दोलनका कारण हालसम्म ७४ जनाले ज्यान गुमाएका छन् । जसमा २ जना बालक र १ जना बालिका गरी ३ जना बालबालिकाको समेत मृत्यु भएको छ ।

भाद्र २३ गते सामाजिक सञ्जाल नियन्त्रण र भ्रष्टाचारविरुद्ध सरकारको जबाफदेहिता तथा पारदर्शिता माग गर्दै जेनजीले सडकमा सुरु गरेको प्रदर्शन सुरुमा शान्तिपूर्ण रूपमा भएको प्रदर्शन राज्यको अत्यधिक बल प्रयोगका कारण हिंसात्मक बन्न पुगेको थियो । सोही दिन १९ जनाको मृत्यु भएको थियो । उक्त घटनापश्चात् भाद्र २४ र २५ गते आन्दोलनले झन् उग्र रूप लिएको थियो ।
'नेपालमा जेनजी नेतृत्वको आन्दोलनमा विद्यालय पोसाकमा नै बालबालिका र युवा आन्दोलनमा होमिदा समेत यी बालबालिका र किशोर किशोरी हुन् भन्ने विषयलाई नजरअन्दाज गरी प्रदर्शनका क्रममा बालबालिकाको अधिकारको गम्भीर उल्लङ्घन भएको छ । जसले राजनीतिक आन्दोलनका समयमा देशको बाल संरक्षण प्रणालीका कमजोरीहरू उजागर गरेको छ । बालबालिका र युवाहरूलाई टाउको, छाती र पेटमा गोली हानिएको छ । बालबालिकालाई हिरासतमा लिइएको, यातना दिइएको र अश्रुग्याँस प्रहार गरी हानि पुर्याइएको छ ', प्रतिवेदनमा उल्लेख गरिएको छ, 'यी सबै कार्यले नेपालको संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि, अन्तर्राष्ट्रिय नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रतिज्ञा पत्र, यातनाविरुद्धको महासन्धि, नेपालको संविधानको धारा ३९, बालबालिका सम्बन्धी ऐन, २०७५, राष्ट्रिय बालबालिका नीति, २०८०, विद्यालय शान्ति क्षेत्र राष्ट्रिय कार्य ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ लगायतका नीतिगत र कानुनी व्यवस्था तथा बल प्रयोगसम्बन्धी आधारभूत सिद्धान्तहरूको स्पष्ट उल्लङ्घन भएको देखाउँछ ।'

द्रुत मूल्याङ्कनले प्रभावित बालबालिका र परिवारको स्वास्थ्य, मनोसामाजिक, सुरक्षा, कानुनी र शैक्षिक क्षेत्रमा तत्काल विभिन्न आवश्यकतालाई उजागर गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसले राज्य संयन्त्र/प्रहरी र बालबालिका/युवाबीचमा विश्वास कमीलाई पनि देखाएको उल्लेख गर्दै द्वन्द्वपछिको अवस्थाको सम्बोधनका लागि शान्ति निर्माण र द्वन्द्व रूपान्तरणको दृष्टिकोण अपनाउँदै यस्ता उल्लङ्घनहरू दोहोरिन नदिन सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । यसले बालबालिकामा मानसिक आघात, डर र चिन्ता व्यापक रूपमा फैलिएको उल्लेख गरिएको छ । सेभ द चिल्ड्रेनको सहकार्यमा सिजपले उक्त प्रतिवेदन तयार गरेको हो ।
त्यस अवसरमा बोल्दै सरोकारवालाहरूले पछिल्लो समय बालबालिका र युवाहरूमा फैलिएको हरेक क्षेत्र गलत छ भन्ने भाष्य चिर्नका लागि सबै निकायले काम गर्न आवश्यक रहेको बताए । अहिले समाज असुरक्षित भएको भन्दै उनीहरूले जेनजी आन्दोलनका नाममा विभिन्न पक्षको लुकेको स्वार्थ पुरा गर्ने प्रयास गरिएको बताए ।

बालबालिकालाई राजनीतिक रूपमा सचेत बनाउनुपर्ने आजको आवश्यकता रहेको भन्दै उनीहरूले जेनजी आन्दोलनका क्रममा जे भयो त्यसका लागि न्यायिक छानबिन हुनुपर्ने बताए । मनोचिकित्सक तथा मानसिक स्वास्थ्यका विषयमा पनि काम गर्न आवश्यक रहेको भन्दै उनीहरूले बालबालिकाहरू रातको समयमा निदाउन नसकेको, डराइरहेको अवस्था रहेको भन्दै यसमा पनि काम गर्न सकिने बताए ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव नवराज सापकोटाले हरेक यस्ता खालका आन्दोलन पछि बेचबिखनको जोखिम बढ्ने सम्भावना बढी हुने भन्दै यस कुरामा पनि सबैले सचेत भएर काम गर्नुपर्ने बताए । 'बालबालिकालाई आन्दोलनमा प्रयोग गरिनू हुँदैन भन्छौँ । तर आन्दोलनमा लैजानेलाई कसरी र कसले जिम्मेवार बनाउने हो ? अभिभावकलाई पनि आन्दोलनमा लैजान हुँदैन भन्ने कुराको बारेमा जानकारीको कमी छ । यसतर्फ पनि काम गर्न आवश्यक छ', उनले भने, 'बालबालिकालाई बल प्रयोग गर्न पाइँदैन भन्ने कुरा गर्नुपर्छ अत्यधिक भन्ने शब्द प्रयोग गरिनुहुँदैन ।'

उनले आन्दोलनमा के भयो भन्ने सन्दर्भमा आयोगले काम गरिरहेको भन्दै छिट्टै रिपोर्ट आउने जानकारी समेत दिए । उनले आन्दोलनको अनुगमनमा गएका मानवअधिकारकर्मी माथि भए गरेका घटनाका विषयमा पनि बोल्नुपर्ने उनले बताए । भने, 'हामी मानवअधिकारकर्मी, नागरिक समाजलाई पनि सुरक्षा थ्रेट छ । यसका विषयमा पनि हामी बोलौँ । किनभने गाडी जलाइएको छ ।'
यसैगरी सिजपका अध्यक्ष तिलोत्तम पौडेलले जेनजी आन्दोलनका क्रममा ७४ जनाको मृत्यु तथा १९७३ जना घाइते भएको भन्दै अझैपनि करिब ३०० घाइतेको उपचार भइरहेको बताए । ६०० बढी व्यक्तिगत घरहरू र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको भन्दै उनले भाटभटेनी लगायतका सपिङ मल लुटपाट गर्न गएका व्यक्तिहरू जसको मृत्यु भए ती व्यक्ति र आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका व्यक्तिहरूलाई एउटै डालोमा हालेर हेर्न नहुने बताए ।
सिजपले तत्कालका लागि द्रुत प्रतिवेदन बनाउँदा जे जति गर्न सकियो त्यस आधारमा प्रतिवेदन तयार गरिएको भन्दै अध्यक्ष पौडेलले अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताए । 'यो द्रुत प्रतिवेदन हो । रिपोर्ट तयार भएपछि किन रोक्ने भनेर सार्वजनिक गरिहाल्यौँ', उनले भने, 'नयाँ सरकार आएपछि सबै कानुनहरू अहिले निष्क्रिय भएको अवस्था छ । अपराधीहरू जेलबाट बाहिर भागेको अवस्था छ । त्यसभित्र पनि वैकल्पिक स्याहार, अपाङ्गता भएका बालबालिकाहरूको सुरक्षाको अवस्था छ । हामी यतिबेला संवेदनशील हुनुपर्ने अवस्था छ ।'

बालबालिकालाई गलत सूचनाबाट जोगाउनुपर्ने अहिलेको अनिवार्य आवश्यकता भएको भन्दै उनले यी कुरामा अभिभावक पनि सचेत हुनुपर्ने बताए । 'यस्ता घटना जोसुकैले घटाएपनि सबैभन्दा बढी राज्य जबाफदेही हुनुपर्छ । गृहमन्त्री र प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि झन् धेरै क्षति भएको छ । यो घटनाको छानबिन गर्दा बालबालिका क्षेत्रमा काम गर्ने व्यक्तिलाई राखिनुपर्छ', उनले भने, 'बालअधिकारको दृष्टिकोणबाट कसरी काम गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ ।
त्यस क्रममा सिजपका महासचिव राजु घिमिरेले अहिलेको वर्तमान परिस्थितिका बारेमा जानकारी दिँदै कुनैपनि आन्दोलनरत पक्षले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनैपनि नाममा आन्दोलनमा सहभागी गराउन नपाइने कानुनी व्यवस्थालाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए । बालबालिकालाई विद्यालय पोसाकमा नै आन्दोलनमा सहभागी गराउन नहुने, विद्यालयमा परेको प्रभाव र असरका विषयमा अनुगमन र अध्ययन गर्नुपर्ने उनको भनाई थियो ।
बालअधिकारकर्मी तारक धितालले बालबालिकाको सहभागिताको अधिकार भएपनि त्यो अधिकार कतिखेर प्रयोग हुन्छ त्यस कुरामा ध्यान दिन आवश्यक रहेको बताए । उनले भने, 'बाल संरक्षण बिनाको बाल सहभागिता स्वीकार्य विषय होइन । बाल संरक्षणबिना कसैले बालसहभागीता हुन्छ भने त्यहाँ सहभागी गराउने पक्ष दोषी हुन्छ ।'