संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानूनमन्त्रीको नेतृत्वमा समिति गठन
काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानूनमन्त्रीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष बैठकले
आन्दोलनका विषयमा
कानून मन्त्री पदम गिरीको नेतृत्वमा समिति गठन गरेको हो । समितिमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी सदस्य रहनेछन् ।
यो समितिले कर्मचारीका मागबारे छलफल गरी उपयुक्त सुझाव दिनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी थिए ।
बैठकमा मुख्य सचिव डा.वैकुण्ठ अर्याल र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित थिए । सभामुखले संसद् सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल समेत गरिरहेका थिए । संघीय संसद्का कर्मचारीले सेवा सुविधा र तलब वृद्धिलगायतका माग राखेर आन्दोलन गरिरहेका छन् ।