२७ साउन २०८३, बुधबार
12 August , 2026,Wednesday

एमालेले पुनः माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

काठमाडौँ । नेकपा एमालेले काङ्ग्रेस-एमालेसहितको राष्ट्रिय सरकार संविधानको ७६ (२) अनुसार नै बन्ने प्रस्ट्याएको छ । संसदीय दलको बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले अझै पनि षड्यन्त्र गरेर मुलुकलाई अस्थिरतातर्फ लैजान सकिन्न कि भनेर अनेक भ्रम छर्न खोजिएको जिकिर गरे ।

सर्वोच्च अदालतका नजिर, व्यवहारिक, राजनीतिक सबै कारणले ७६ (२) अनुसार नै सरकार गठन हुने उनको स्पष्टोक्ति थियो । उनले भने, ‘काँग्रेस र एमाले मिलेर राष्ट्रिय सरकार बनाएर अघि बढ्ने भनिसकेपछि त्यही हो मुख्य आधार । गण्डकी कोशीमा पनि यही धाराबाट सरकार बनेको छ । संविधानलाई भ्रमणपूर्ण ढंगबाट व्याख्या गर्न खोजिँदै छ । ७६ (३) बमोजिम भन्दै गर्दा काँग्रेस ठुलो दल छ भन्ने हिसाबले व्याख्या गर्न सकिन्छ । तर, काँग्रेस स्वयंले एमालेसँग समझदारी बनाइसकेको अवस्थामा सहमतिअनुसार नै कार्यान्वयन हुन्छ ।’

यसैगरी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुनः राजीनामा दिएर बाटो खोलिदिन अनुरोध गरेको छ । आज बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परेको प्रचण्ड सरकारले विभिन्न निर्णय गर्न थालेको भन्दै बैठकले आपत्ति जनाएको बताए ।

उनले भने, ‘राजीनामा गरेर राष्ट्रिय सरकार निर्माणमा मार्ग प्रशस्त गर्न आग्रह गरेका छौँ । अहिले सरकारले विभिन्न निर्णय गरिरहेको छ । अल्पमतमा परेको सरकारले निर्णय गर्न हैसियत राख्दैन । राजीनामा पहिलो माग हो । यदि नदिए विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौँ ।'

बर्तौलाले विश्वासको मत भन्दै प्रधानमन्त्रीले के बहानामा अल्झाइरहेको भन्दै प्रश्न गरे । उनले भने, ‘१० दिन, ७ दिन के निर्णय गर्न प्रधानमन्त्रीले देशलाई कुराउँदै हुनुन्छ ? के बहानामा के गर्न अल्झाइरहनुभएको छ ? यो अनुचित कार्य हो । एक दिनको समय पनि खेर नफाली राजीनामा दिनुपर्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्