टीआरसी विधेयकमाथि जुट्यो सैद्धान्तिक सहमति
काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सकिएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल भएको हो ।
संयन्त्रमा नेपाली काँग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट प्रमुख सचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी छन् ।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा संयन्त्रका सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको बताए । 'सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि हामीले सैद्धान्तिक सहमति जुटाएको छौँ । यस विषयमा सोमबार सरोकारवालासँग छलफल गरौँ । त्यसपछि संयन्त्रको बैठक बसेर यसलाई अन्तिम रूप दिने कुरा भएको छ', उनले भने ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकको विषयमा आगामी सोमबार सरोकारवालासँग राय लिएर अन्तिम रूप दिने गरी आजको बैठक सकिएको बताए । उनले भने, 'हामी यो विषयलाई अन्तिम रूप दिँदैछौँ। फाइनल गर्नको लागि केही रायहरू पनि सोमबारसम्म लिन्छौँ । परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुङ्ग्याउँछौँ ।'
पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाइने बर्तौलाले बताए । अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाउने उनको भनाइ छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?