भ्रष्टाचारको विषयमा कसैको अनुहार हेर्दैनौँ, ऐन संशोधन प्रक्रियामा छौँ: प्रधानमन्त्री ओली
तस्बिरः प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि क्रियाशील भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गरिने बताएका छन् । मंगलबार संघीय संसद्अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ संशोधनबारे सांसदहरूले उठाएका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको विषयमा सरकारले यताउति नहेर्ने दाबी गरे ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार अन्त्य गर्न सरकारले जो- कसैको अनुहार नहेर्ने बताए । 'भ्रष्टाचारमा कसैको अनुहार हेरेर सरकारले क्षमा गर्दैन। अहिलेको सरकार प्रतिशोधका लागि होइन', उनले भने, 'अर्थतन्त्र र समाजमा सुधार ल्याउन बनेको हो। कसैप्रति आग्रह/पूर्वाग्रह राख्दैनौँ। कसैले भ्रष्टाचार गर्यो भने कोही उम्किन पाउँदैन ।' कानूनको नजरमा सबै बराबरी भएकाले भ्रष्टाचार नियन्त्रणमा पनि सोही विधि लागू उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण र निवारणमा थप प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए । ओलीले भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ मुलुकमा सुशासन कायम गर्न सरकारले ऐन संशोधन गर्न चाहेको स्पष्ट पारे ।
भ्रष्टाचार निवारण ऐन, २०५९ मा रहेको भ्रष्टाचारसम्बन्धी कसुरको परिभाषा, सार्वजनिक संस्था र कसुर र सजाय, अनुसन्धान तथा अभियोजनलगायतका विषयमा संशोधन आवश्यक देखिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।