समितिमा महानिर्देशकको जवाफ, बादलभित्र हेलिकप्टर छिर्दा दुर्घटना भयो
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले
एयर डाइनेस्टीको हेलिकोप्टर बुधबार नुवाकोटमा दुर्घटना हुनुको कारणमा भीएफआर (भिजुअल फ्लाइट रुल्स) उल्लंघन रहेको
बताएका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको समितिमा महानिर्देशक अधिकारीले फ्लाइटले बादलभित्र प्रवेश गर्न नहुने र आँखाले देख्न नसकिने ठाउँमा प्रवेश गर्न नहुने नियम उलंघन गर्दा दुर्घटना भएको प्रारम्भिक रूपमा देखिएको बताए ।
विस्तृत विवरण मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिले दिनेमा आफू विश्वस्त रहेको बताउँदै महानिर्देशक अधिकारीले सर्सर्ती हेर्दा खराब मौसम रहेको ठाउँमा हेलिकप्टर प्रवेश गर्नु नै दुर्घटनाको कारण प्रारम्भिक रूपमा देखिएको बताए ।
'यसको (हेलिकोप्टर दुर्घटना) रुट कज सर्सर्ती हेर्दाखेरि फेरि छानबिन आयोगले बताउला, ब्याड वेदरमा प्रवेश गरेको, बादलभित्र प्रवेश गरेको कारणले फर्किने क्रममा देब्रे घुम्दा दुर्घटना भएको जस्तो देखिन्छ', उनले भने, 'फ्लाइटिङ कमान्डले सिभिल एभिएसनको भिजुल फ्लाइट रुलअनुसार यसरी बादलभित्र छिर्नु अथवा आफूले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो । यो कानुनले बर्जित गरेको विषय हो । रुट कज भनेको ब्रिज अफ द भिजुअल फ्लाइट रुल हो ।'
दुर्घटना स्थलमा बिहीबार बिहान पुग्दा पनि त्यो देखिएको अधिकारीको भनाइ थियो । नेपालमा डाँडाकाँडा भएकाले त्यहाँ अनुमानयोग्य मौसम नभएको पनि उनको भनाइ छ ।
काठमाडौँबाट स्याफ्रुबेंसीका लागि उडेको एयर डाइनेस्टी एन-एजेडी कलसाइनको हेलिकप्टर नुवाकोट, शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटना भएको थियो ।
दुर्घटनामा एयर डाइनेस्टीका वरिष्ठ क्याप्टेन अरुण मल्ल, चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेई जिमिङको मृत्यु भएको थियो ।