२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

संसद्‍बाट टीआरसी विधेयक पारित गर्ने तयारी, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

फाइल फोटो

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आजको बैठकमा  सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमाथि छलफल हुँदैछ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ ।

संसद्‍मा छलफलका लागि प्रस्तुत विधेयकमाथि आजै प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । नेताहरूले सम्बोधन गरिसकेपछि आज नै उक्त विधेयक पारित गर्ने तयारी छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको विधेयक मंगलबार नै संसद्‍मा पेस भएको थियो । यसअघि दलहरूबिचको विवादका कारण रोकिएको विधेयक राजनीतिक सहमति भएसँगै पारित हुने चरणमा पुगेको हो ।

विधेयकमा सहमति गर्न काँग्रेस, एमाले र माओवादी सम्मिलित कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको सहमति अनुसार तयार भएको प्रतिवेदनसहित विधेयक संसद्‍मा पेस भएको थियो ।

२५ फागुन २०६९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा दर्ता गरेका थिए ।

यो विधेयक गत बिहीबार प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट दफावार छलफलसहित सर्वसम्मत रूपमा पारित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्