कर्मचारीको अमेरिका भ्रमण रद्द गरिएकोप्रति माओवादी सांसद राईको आपत्ति
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसद दुर्गा राईले राजनीतिक प्रतिशोधका आधारमा अमेरिका भ्रमण अन्तिम समयमा आएर अस्वीकृत गरिएको टिप्पणी गरिन् ।
संघीय निजामती सेवा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रश्न गरेकी हुन् । 'मैले एउटा समाचार पढेँ । एउटा कार्यक्रममा जान आँटेको पालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई अमेरिका जान लागेको अवस्थामा किन रोकिएको हो ?', सांसद राईले प्रश्न गरिन्, 'राजनीतिक आस्थाको आधारमा कर्मचारीमाथि यसरी डण्डा लगाउन मिल्छ ? यदि त्यस्तो हो भने कर्मचारी कसरी काम गर्न सक्छ ? यो विषयमा मन्त्रीसँग जवाफ चाहन्छु ।'