२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

राजीनामा दिएर मार्ग प्रशस्त गर्न उपसभामुखलाई काँग्रेसको सुझाव

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन सुझाव दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले उपसभामुखलाई राजीनामा दिन उपयुक्त हुने सुझाव दिएको हो ।

असम्बन्धित व्यक्तिहरूको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको बैठकको ठहर छ । उपसभामुख रानालाई पदबाट हटाउने विषयमा काँग्रेस–एमालेबीच सहमति भइसकेको छ । पार्टीभित्र नेताहरूको धारणा बुझ्न देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल गरेका हुन् । 

उपसभामुखले 'पद अनुकूल आचरण नगरेको' भन्दै काँग्रेस र एमालेले उनलाई हटाउने तयारी गरेका हुन् । त्यसका लागि सत्तारूढ दलका सांसदहरूले हस्ताक्षर सङ्कलन गरेका छन् । उपसभामुखले मार्ग प्रशस्त नगरेमा उहाँ विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सत्तापक्षको तयारी छ ।

उपसभामुखले पद अनुकूलको आचरण नगरेमा एक चौथाइ सदस्यले संसद् प्रस्ताव दर्ता गर्न सक्ने र पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा पदमुक्त हुने संवैधानिक व्यवस्था छ ।

संवैधानिक परिषद्को अङ्कगणितलाई मध्यनजर गरेर सत्तापक्षले उपसभामुख रानामाथि निशाना साँधेको टिप्पणी भइरहेको छ । यसअघि उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएको थियो । पत्र गएको साउन पहिलो हप्ता सार्वजनिक भए लगत्तै त्यसै बेला पनि संसद्मा यो विषय उठेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्