प्रश्न उठेपछि श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता
फाइल तस्बिर
काठमाडौँ । शैक्षिक प्रमाणपत्रमा प्रश्न उठेपछि सरकारले श्रीलङ्काका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ सकिए पनि
भट्टराईको नाम अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय गरेको थिएन ।
भट्टराईले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सकेका थिएनन् । जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन । उनले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको समितिका एक सदस्यले बताए ।
सुनुवाइ समितिको बैठक मंगलबार बस्दै छ । उक्त बैठकअघि नै उनले आफ्नो नाम फिर्ता लिएको समितिमा जानकारी गराएका हुन् ।
समितिले स्नातक पास गरेको प्रमाण पत्र माग गरेको थियो । केही सांसदहरूले भट्टराईको शैक्षिक प्रमाण पत्रमा पनि प्रश्न उठाएका थिए ।
सुनुवाइ समितिले भट्टराईको नाम अस्वीकृत गर्ने तयारी गरेको थियो । आइतबार र सोमबार पनि सुनुवाइ समिति बैठक बसेको थियो तर दुई तिहाइ सांसद उपस्थित नभएकोले केही निर्णय भएको थिएन ।
नेपाली काँग्रेसको कोटाबाट भट्टराई राजदूत सिफारिस भएका थिए । समितिले यसअघि १६ जना प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरिसकेको छ ।