१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

सांसद रवि लामिछाने पक्राउबारे सभामुख घिमिरेलाई जानकारी

फाइल फोटो

काठमाडौँ । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । 
जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई सांसद लामिछाने पक्राउसम्बन्धी जानकारी लेखी पठाएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले आज निकालेको सूचनामा उल्लेख छ । 
चितवनको निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमति अनुसार फौजदारी कसुरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा उल्लेख छ । नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा 'संघीय संसद्को कुनै सदस्य पक्राउ परेमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ,' भनी उल्लेख छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि हिजो काठमाडौँबाट पक्राउ गरिएको थियो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । 
लामिछानेलाई प्रहरीले सङ्गठित अपराध र किर्ते लिखतमा अनुसन्धान गर्ने भएको छ । पक्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने कानुनी प्रावधान भए पनि हिजो शुक्रवार पक्राउ परेकाले प्रहरीले रविलाई भोलि आइतबार मात्र अदालतमा उपस्थित गराउने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्