२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे चीन प्रस्थान

तस्बिरः उपाध्यक्ष घिमिरेको सचिवालय

काठमाडौँ । संघीय संसद्, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको १० दिने औपचारिक भ्रमणका लागि आज अपराह्न चीनको छेन्दु प्रस्थान गरेका छन् ।
जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा आयोजना हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिनका लागि उपाध्यक्ष घिमिरे चीनको छेन्दु प्रस्थान गरेका हुन् ।
उनी आज अपराह्न १२.२० बजे को सिचुवान एअरलायन्सको उडानबाट छेन्दु तर्फ प्रस्थान गरे । कार्तिक २८ देखि ३० गतेसम्म हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
उपाध्यक्ष घिमिरेले भ्रमणका क्रममा जियाङ्सु, बेइजिङ र हुबेई प्रान्तको भ्रमण गर्ने र जनकंग्रेसका प्रान्तीय पदाधिकारी तथा प्रान्तीय विशिष्ट पदाधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । उनी भ्रमण सम्पन्न गरेर मंसिर ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
उपाध्यक्ष घिमिरे सँगै उनका श्रीमान् दुर्गाप्रसाद आचार्य र स्वकीय सचिव प्रेमबहादुर सिंह पनि भ्रमणमा सहभागी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्