संसदीय समितिका सभापतिले मागे पुल्चोकमा आवास
फाइल फोटो
काठमाडौँ । संसदीय समितिका सभापतिहरूले आवास सुविधा माग गरेका छन् । उनीहरूले हाल प्राप्त गर्दै आएको आवास बापतको रकम नभएर आवास नै उपलब्ध गराउनुपर्ने माग गरेका हुन् ।
संसदीय समितिका सभापतिले आवास सुविधा अन्तर्गत २५ हजार प्राप्त गर्दछन् । त्यसको सट्टा आवास सुविधा नै दिनु उपयुक्त हुने महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहको भनाई छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) को आर्थिक सहयोगमा संघीय संसद् सचिवालयले मंगलबार ललितपुरमा आयोजना गरेको सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना र संसदीय समितिका सभापतिहरूबीच अन्तरक्रियात्मक कार्यक्रममा उनीहरूले त्यस्तो माग राखेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै सभापति साहले त्यस्तो माग गरे । सेवा सुविधामा सरकारले ख्याल गर्नुपर्ने र सेवा सुविधा प्रर्याप्त भएको अवस्थामा मात्रै संसदीय समितिका काम जनताले अपेक्षा गरे अनुसार गर्न सकिने उनले बताए ।
संसदीय समितिका सभापतिको मर्यादा मन्त्रीसरह बनाउनुपर्ने र त्यसपछि पुल्चोकस्थित पुरानो मन्त्री निवासलाई संसदीय समिति सभापतिको आवास बनाउनुपर्ने उनको माग छ । आवास उपलब्ध गराएपछि समिति सभापतिलाई आवास भत्ता अन्तर्गत दिइने २५ हजार कटौती गरे पनि हुने उनको आग्रह छ ।
अहिले दिँदै आएको २५ हजार आवास भत्ता अपुग भएको उल्लेख गर्दै उनले भत्ता थप्नु भन्दा आवास सुविधा नै उपलब्ध गराउनु उचित हुने बताए । सभापति साहले भनेका थिए, 'पुलचोकमा मन्त्री निवास खाली भएको छ । बरु हामीलाई २५ हजार चाहिँदैन । पुरानो मन्त्री निवासलाई संसदीय समितिका सभापतिको निवास बनाऔँ । यसमा सबैले पहल गरौँ ।'
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?