संघीयता कार्यान्वयनसँग जोडिएका कानुनहरू निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
फाइल फोटो
काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माण गर्न सक्रियतापूर्वक लागिरहेको बताएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति, अल्पसङ्ख्यक समुदाय आदिलाई समेत सम्बोधन हुनेगरी विकास तथा सेवाको ढाँचा निर्माणदेखि कार्यान्वयनमा ध्यान दिँदै जानु नै संघीयताको सफल कार्यान्वयनको सूचक भएको उल्लेख गरे ।
सभामुख घिमिरेले तीन तहकै सरकारहरूबिचको अधिकार बाँडफाँड र तिनीहरूको कार्यान्वयनमा धेरै मतभेद नरहेको बताए । उनले संघीयता कार्यान्वयनको सुरुवाती अवस्थादेखि रहेका केही कमी, कमजोरीहरू अहिले कार्यान्वयनको क्रममा समाधान हुँदै गएको बताए ।
संघीय शासन प्रणाली भनेकै निरन्तर अभ्यासको क्रममा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने पद्धति भएको बताउँदै सभामुख घिमिरेले विद्यालय शिक्षा, निजामती ऐन, प्रहरी समायोजन जस्ता मुख्य कार्यहरू कार्यान्वयनको चरणमा रहेको उल्लेख गरे ।
कानुन कार्यान्वयनको लागि तीन तहकै सरकारबिच समन्वय अपरिहार्य रहेको उनको भनाई थियो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?