२८ भदौ २०८३, आइतबार
13 September , 2026,Sunday

कुनै नेताको सहमति नकुरौँ‚ भ्रष्टाचार काण्ड छानबिन गर्न उच्चस्तरीय आयोग बनाऔँ : शिशिर खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद शिशिर खनालले भ्रष्टाचारको सबै काण्ड छानबिन गर्ने भए ठुला दलको सहमति नभए पनि उच्चस्तरीय आयोग बनाउनुपर्ने सुझाव दिएका छन् ।

शुक्रवार सामाजिक सञ्जालमा लेख्दै उनले राजनीतिक दलको हस्तक्षेपविहीन सक्षम व्यक्तिको नेतृत्वमा आयोग बनाउनुपर्ने धारणा राखेका छन् । उनले समयसीमा तोकेर स्वतन्त्रता पूर्वक उक्त आयोगलाई काम गर्न दिने हो पार्टीको पूर्ण समर्थन रहने उल्लेख गरेका छन् ।

सन् २०२२ मा प्रकाशित ‘करप्सन एन्ड अन्डरडेभलोप्ट नेपाल: अ कन्टेन्ट ऐनालाईसीस’ शोधपत्रमा नेपालका विभिन्न पत्र पत्रिकामा प्रकाशित भ्रष्टाचारका काण्डहरू सूचीकृत भएको भन्दै उनले लेखेका छन्‚ ‘२०६३ सालपछि बाहिर आएका रू १ अरब भन्दा ठुला भ्रष्टाचारसँग जोडिएका ३१ वटा काण्ड मार्फत रु २२३ अरब भन्दा बढी भ्रष्टाचार भएको हुन सक्छ भनेर यो सूचीले भन्छ । तर यो सूचीमा '७० करोड’ लगायतका काण्ड छैनन् । र पछिल्लो समय चर्चामा आएका अन्य काण्डहरू पनि छैनन् ।'

त्यसैले उनले आयोग बनाएर उल्लेख नभएका घटनाको समेत छानबिन गर्नुपर्ने उल्लेख गरेका छन् । ‘त्यसैले कुन काण्ड छानबिन गर्ने भनेर ठुला पार्टी र ठुला नेताको सहमति हैन, यी सबै काण्डको छानबिन गर्ने गरी उच्चस्तरीय आयोग बनाऔँ‚’ खनालले थप लेखेका छन्‚ ‘आफ्नो मान्छे नराखौँ, सक्षम राखौँ। समयसीमा तोकेर स्वतन्त्रता पूर्वक काम गर्न दिऔँ । दोषीलाई कारबाही गरौँ। हाम्रो पूर्ण समर्थन रहनेछ ।

यसअघि बिहीबारको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आयोग बनाउने भए छलफल गर्न भन्दै आयोग बनाउन कांग्रेस तयार रहेको बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्