काँग्रेसले गर्यो एमालेसँग भएको सहमति अनुमोदन
काठमाडौँ । नेपाली काँग्रेसले नेकपा (एमाले) सँग भएको सहमति अनुमोदन गरेको छ । आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट अनुमोदन गरेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको सहमतिलाई बुधबार बिहान बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको हो । तत्काल केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेका बेला विधानअनुसार कार्यसम्पादन समितिबाट काँग्रेसले निर्णय गर्ने गर्छ ।
सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि एमालेसँग सहकार्य गर्ने समझदारी बनेको र त्यसैलाई अनुमोदन गरिएको प्रवक्ता प्रकाश शरण महतले बताए । महतका अनुसार यो मुद्दामा सहमत भएका अन्य दलहरूलाई पनि संवादमा ल्याइनेछ ।
उनले भने, ‘सरकारको नेतृत्व सुरुमा एमाले अध्यक्ष ओली र चुनाव गराउने गरी सभापति देउवा प्रधानमन्त्री बन्ने समझदारी बनेको छ । राष्ट्रिय सहमति नै बनाउने कोसिस भइरहेको छ ।’
सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच सरकार गठन र संविधान संशोधन गर्नेजस्ता सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएको भनिए पनि ती बुँदाहरू सार्वजनिक भइसकेका छैनन् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?